काठमाडौँ ।
भारतको गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको जहाज विद्यार्थीहरू बस्दै आएको होस्टेलमा ठोक्किएको हो । भारतीय समयअनुसार दिउँसो १स्३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमानस्थलनजिकै रहेको मेघाणी नगरस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएको हो । उक्त भवन इन्टर्न डाक्टरहरूको होस्टेल थियो । सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक तस्बिरहरूमा जहाजको एउटा हिस्सा भवनमै अड्किएको देखिन्छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार दुर्घटनामा होस्टेलमा रहेका मेडिकल कलेजका २० विद्यार्थी पनि घाइते भएका छन् ।
दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया