काठमाण्डौ ।
गएराति देशका कुनै पनि ठाउँमा पानी नपरे पनि आज दिउँसो भने धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान छ । तर वर्षाको बेला जलसतह घटबढ भइरहने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गएको १५ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन मधेश र बागमती प्रदेश हुँदै गण्डकी र लुम्बिनीका केही भागसम्म फैलिएको छ । यी ठाउँसम्म मनसुनी वायु र पश्चिमी भेगमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया