२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

चुरे क्षेत्रमा बढ्दो दोहनले तराई मधेशमा सङ्कट निम्तिँदै



काठमाण्डौ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आफ्नो स्थापनाको अवसर पारेर आज ११औं चुरे संरक्षण दिवस मनाएको छ । सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शुरू गरेकोमा २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको हो ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासीको कावासोतीमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको समितिले जनाएको छ । समितिकै अग्रसरतामा चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको छ । गुरुयोजनामा वातावरण संरक्षणदेखि नदी प्रणालीको व्यवस्थापन र कृषि प्रणालीदेखि जैविक विविधताको विषय यसले समेटेको छ ।

चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबैभन्दा कान्छो पहाड हो । यो सबैभन्दा कमलो र सबैभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो । यो झन्डै चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको बताइन्छ ।

देशको झन्डै १३ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्र पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३६ वटा जिल्लामा फैलिएको छ । १० देखि ५० किलोमिटर चौडाइ रहेको चुरे आठ सय किलोमिटर लामो छ ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको विज्ञहरू बताउँछन् ।

चुरे सकिनेबित्तिकै भावर र त्यसपछि तराईको समथर भूभाग रहेको छ । अन्न भण्डारका रूपमा रहेको तराई मधेश जोगाउन चुरेको भूमिका महत्त्वपूर्ण छ । चुरेले तराईका निम्ति भूमिगत जल भण्डारको काम गरेको विज्ञहरू बताउँछन् ।

चुरेको जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरोको जोखिम उच्च हुन्छ । जैविक विविधताको दृष्टिकोणबाट पनि चुरे उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

नेपालमा पाइने एक हजार नौ सय १८ प्रजातिमध्ये एक हजार तीन सय आठ प्रजाति चुरे तथा तराई मधेश क्षेत्रमा पाइन्छन् । पछिल्लो समयमा चुरेमा दोहन बढ्दै जाँदा त्यहाँ पहिरो र तराईमा बाढी तथा डुबानसँगै भूमिगत जलसतह घट्दै गएको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २ असार २०८२ सोमबार ००:००  ८ : ३६ बजे