२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा



कपिलवस्तु ।

कपिलवस्तु जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। लुम्बिनी प्रदेश स्वस्थ्यमन्त्री खेमबहादुर सारूले सदरमुकाम तौलिहवास्थित बालगृह सभाहलमा आयोजित कार्यक्रमबिच घोषणा गरेका हुन्।

मन्त्री सारू र स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकाललाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरे।

स्वास्थ्यमन्त्री सारूले मातृशिशु मृत्युदर न्यूनीकरण गर्न यस्ता अभियानहरू हुनु जरुरी रहेको बताउँदै सुशासन, जवाफदेहिता, गुणस्तरीय सेवा प्रवाह गर्न मन्त्रालय र आफू स्वयं ५५ बुँदे कार्यक्रमका साथ लुम्बिनी प्रदेश स्वास्थ्य क्षेत्रलाई सुदृढीकरणतर्फ लागेको उल्लेख गरे।

जिल्लाका स्थानीय तहका वडाका घरधुरी सर्वेक्षण गरी ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्लामा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताए।

जिल्लामा १६ देखि २३ महिनासम्मका ८ हजार ७ सय बालबालिकामा १३ प्रकारका खोपको पहुँच पुगेपछि घोषणा गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले जानकारी दिए। शून्यदेखि १५ महिनामा लगाउनुपर्ने उक्त खोप नलगाएका बालबालिकालाई १६ देखि २३ महिनाभित्र लगाएर पूरा गरिएको हो। त्यस्तै, जिल्लाभरि घरधुरी सर्भेक्षण गर्दा खोप लगाउन छुटेका ६७३ बालबालिकालाई पनि खोप लगाइएको ढकालले जानकारी दिए।

प्रकाशित मिति : ३ असार २०८२ मंगलबार ००:००  ८ : १४ बजे