१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

वाणगंगा–९ का एकल महिलालाई अचार बनाउने तालिम



बाबुराम रायमाझी, जितपुर ।

वाणगंगा नगरपालिका–९ मा एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। वडाको सहयोग तथा मानव अधिकारका लागि महिला एकल समूहद्वारा आयोजित तालिम संजिवनी अचार उद्योगको भवन, पश्चिम जिनुवामा सम्पन्न गरिएको हो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कमल पौडेलले एकल महिलाहरूका लागि सिपमूलक कार्यक्रमहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै वडा कार्यालयबाट यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकताका साथ सहयोग गरिँदै आएको बताए। उनले सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर उद्यमी बन्न प्रेरणा लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य तथा प्रेस चौतारी नेपाल, कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले पनि यस्ता कार्यक्रमले महिलाहरूमा आत्मविश्वास थप्ने बताए। उनले आफू व्यक्तिगत तथा संस्थागत रुपमा पनि यस्ता सीप विकासका कार्यक्रमहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रशिक्षक चन्द्रावती थारुले तालिममा बनाइएका अचारहरूको बजारीकरणका लागि आफूले नेतृत्व गरिरहेको संस्थाले खरिद गरी सहयोग गर्ने बताइन्। कार्यक्रममा संस्थाकी कोषाध्यक्ष राधा बेल्बासे तथा सहभागी प्रतिनिधिका रुपमा नरमाया गुरुङले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता महिला एकल समूहकी अध्यक्ष रुपादेवी राईले गरेकी थिइन् भने सञ्चालन संस्थाकी सचिव शोभा आचार्यले गरेकी थिइन्।पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा अचारको विभिन्न परिकार बनाउने तरिका, सफा र गुणस्तरीय उत्पादनका विधिहरू, प्याकेजिङ र बजारीकरणसम्बन्धी विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। सहभागी महिलाहरूले तालिमले आफ्नो आत्मनिर्भरता निर्माणमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय स्रोत साधनको उपयोग गरी महिला सशक्तिकरण तथा लघु उद्यम प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमलाई सहभागीहरूले अत्यन्त उपयोगी एवम् प्रेरणादायी बताएका छन्।

प्रकाशित मिति : ४ असार २०८२ बुधबार ००:००  ७ : ४५ बजे