१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

बाल माविमा कार्यरत तीन शिक्षकलाई विदाई



गिता अर्याल, कपिलवस्तु ।

बाणगङ्गा १ मा अवस्थित श्री बाल माध्यमिक विद्यालयमा शुक्रवार विदाई तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयबाट अवकाश प्राप्त गरेका दुइ शिक्षक र सरुवा भइ जानु भएका एक शिक्षक गरी ३ जनालाइ विदाई गरिएको हो। यसरी विदाई हुनेमा सीता पाण्डे, सुमित्रा पन्थी र पोम हिस्की शिक्षकहरूलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

विदाई कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी सदस्य टोपकला बिसीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले राख्नुभएको थियो।

विदाई समारोहमा शिक्षकहरूको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उपप्रमुख चौधरीले भन्नुभयाे, “शिक्षकहरूले शिक्षालयमा पुर्‍याएको योगदान अमूल्य छ। सेवा, निष्ठा र कर्तव्यबोधले भरिएको उहाँहरूको यात्रा प्रेरणादायी छ।” साथै, उहाँले अवकाशपछि पनि सामाजिक र रचनात्मक कार्यमा सक्रिय रहन अाग्रह गर्नुभयाे ।

विद्यार्थी प्रतिनिधिका रूपमा कक्षा ९ की छात्रा नाइसा अधिकारीले मन्तव्य राख्दै अवकाशप्राप्त शिक्षकहरूले सिकाइ, अनुशासन र जीवन परिवर्तनमा पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्नुभयाे । उहाँले भन्नुभयाे, “हामीले जीवन बदल्ने मार्गदर्शन पाएका छौँ, जुन सदैव स्मरणीय रहनेछ।”

कार्यक्रमको सञ्चालन शिक्षक सूर्य चुदालीले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १० श्रावण २०८२ शनिबार ००:००  ८ : ४० बजे