२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मंसिर ५ गतेबाट प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी



कपिलवस्तु ।

उद्योग व्यापार संघ, कपिलवस्तुले प्रथम राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि, पर्यटन तथा व्यापार मेला लगाउने घोषणा गरेको छ । संघले आज सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म मेला सञ्चालन हुने जानकारी गराएको हो ।
उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले मेलाको उद्देश्य, पूर्वतयारी र संभावनाबारे जानकारी गराउँदै बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्धरंगशालामा मेला हुने बताए ।

उनले मेला जिल्लाको आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको समग्र प्रवद्र्धनमा केन्द्रित रहने बताए । “मेला केवल व्यापारिक गतिविधि होइन, यो हाम्रो जिल्लाको पहिचान, उत्पादन र अवसरलाई राष्ट्रिय स्तरमा उजागर गर्ने प्लेटफर्म हो,” उनले भने । उनले मेलामा देशभरका उद्यमी, व्यवसायी, कृषक, नवप्रवर्तनकर्ताहरूको सहभागिता रहने बताए । उनले सो क्रममा ३५ वटा उपसमिति निर्माण गरि मेला तयारीको आन्तरिक तथा बाह्य तयारीको कामलाई तीब्रता दिने तयारी समेत रहेको बताए ।

संघका संरक्षक टोप नारायण बेल्वासेले यस्तो प्रदर्शनीले स्वदेशी उत्पादन र सेवा प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। मेलाले स्थानीय उत्पादनलाई बजारिकरणमा टेवा पुर्‍याउने र नवप्रवर्तनका अवसरहरू सृजना गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मेला सफल पार्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे । उनले भने, “यस्तो आयोजनाले जिल्लाको सामाजिक र आर्थिक चेतनालाई समेत सशक्त बनाउनेछ ।”

उक्त पत्रकार भेटघाट कार्यक्रममा संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो

प्रकाशित मिति : १९ श्रावण २०८२ सोमबार ००:००  ७ : ५६ बजे