१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भूमिव्यवस्था मन्त्री अधिकारीद्वारा वाणगंगामा २८ जनालाई लालपुर्जा वितरण



बाबुराम रायमाझी, जितपुर ।

वाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले शनिबार एक विशेष कार्यक्रममा २८ जना लाभग्राहीलाई जम्मा २ बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभयो।

मन्त्री अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै मुलुकभर ७७ वटा जिल्लामा भूमि आयोग गठन गरी भूमिहीनको समस्या समाधानका लागि काम अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले ५ लाख भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न बजेट समेत विनियोजन गरेको छ। “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय नारालाई व्यवहारमा उतार्ने दिशामा यो अभियान महत्त्वपूर्ण कदम भएको मन्त्री अधिकारीको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, प्रदेश सभा सदस्य गिरिधारिलाल न्यौपाने, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, भूमि आयोगका जिल्ला अध्यक्ष झबिलाल पोख्रेललगायतले धारणा व्यक्त गर्दै भूमिहीनको हकमा सुरुआत भएको यो कदमको प्रशंसा गरेका थिए ।कार्यक्रममा मोतिपुर डाँडाकि कल्पना सुनारले ३२ बर्षदेखि जोतभोग गर्दै आएको जग्गाको प्रमाण पुर्जा पाउदा खुशी हुदै नाच्दै सरकारलाई धन्यवाद दिएकि थिइन ।

सो अवसरमा मालपोत तथा नापी कार्यालयका प्रमुख, सर्वदलीय नेताहरू, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति थियो।

वडा अध्यक्ष विष्णु गिरीले आफ्नो वडाका २८ जनालाई जग्गाधनी प्रमाण–पुर्जा दिलाउन सफल भएकोमा खुशी व्यक्त गर्दै भूमि आयोग, मालपोत र नापी कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो। नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले यो अभियानलाई सबै ११ वडामा तीव्र गतिमा अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार नगरभर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ९ हजार ७८५ जनाले आवेदन दिएका बताउदै जिल्लामै पहिलो पटक वाणगंगाबाट भूमिहीनलाई लालपुर्जा वितरण भएपछि जनतामा नगरप्रतिको विश्वास थप बलियो भएको नगर प्रमुख अर्यालको भनाइ रहेकोे थियो।

प्रकाशित मिति : २४ श्रावण २०८२ शनिबार ००:००  ७ : ४४ बजे