बाबुराम रायमाझी, जितपुर ।
नेकपा एमाले वाणगंगा नगर कमिटीको तेस्रो पूर्ण बैठक सोमबार वाणगंगा–१, जितपुरमा सम्पन्न भएको छ। बैठकले नगर विकासका विभिन्न विषयमा समीक्षा गर्दै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।
बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले वाणगंगा नगरपालिकाले हालसम्म सम्पन्न गरेका गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै छाडा चौपाया व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भित्री सडक कालोपत्रे तथा स्तरोन्नति, कृषि उपज संकलन केन्द्र स्थापना, स्वास्थ्य सेवा सञ्चालन, अधुरा विद्यालय पूर्वाधार निर्माण, पूर्ण खोप तथा पूर्ण सरसफाइको घोषणा , दुग्ध उत्पादनमा आत्मनिर्भर नगरपालिका घोषणा र बालमैत्री पालिका घोषणाको निरन्तरता लगायतका उपलब्धिहरूको जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज गिरिधारिलाल न्यौपानेले एमाले पार्टीलाई अहिले घेराबन्दीको अवस्थामा रहेको बताउँदै यस्तो चुनौतीपूर्ण घडीमा कार्यकर्ताहरू एकजुट भएर पार्टीको विचार र सिद्धान्त अंगाल्न आग्रह गरे। उनले सरकारका राम्रा कामको जनस्तरमा प्रचार–प्रसार गर्दै “मिसन ८४” लाई सफल बनाउँदै मुलुकको पहिलो पार्टी बनाउनेमा संकल्प व्यक्त गरेका थिए ।
यसैगरी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं वाणगंगा नगर इञ्चार्ज चक्रपाणि अर्यालले पार्टीको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुने जानकारी दिदै उनले केन्द्रीय कमिटीबाट पारित प्रस्तावित विधानसम्बन्धी दृश्य सामाग्रीमार्फत सहभागीहरूलाई अवगत गराउँदै नगर कमिटीका सदस्यहरूलाई भदौ १ गतेभित्र आफ्ना लिखित सुझावहरू नगर पार्टी कार्यालयमा बुझाउन अनुरोध गरेका थिए ।
बैठकमा प्रदेश कमिटी सदस्य डम्बर शर्मा, जंझिर प्रसाद चौधरीलगायतले कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा नगर कमिटीका पदाधिकारी, सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्य धनु अधिकारी, धर्म भुसाल लगायतको उपस्थिति रहेको थियो। बैठकको सहजीकरण नगर कमिटी सचिव चेत नारायण भण्डारीले गरेका थिए।







प्रतिक्रिया