कपिलवस्तु ।
“दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार” भन्ने मूल नारासहित वाणगंगामा आज २६औँ अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रमसहित मनाइएको छ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो। पहिलोपटक सन् २००० मा मनाइएको यो दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बन्न प्रेरित गर्दै आएको छ।
वाणगंगा नगरपालिका–४, जीतपुरमा आयोजित कार्यक्रममा “जलवायु परिवर्तनमा युवाहरूको भूमिका” विषयमा अन्तरसंवाद गरिएको थियो। कार्यक्रममा युवाहरूले जलवायु परिवर्तनको चुनौती सामना गर्न स्थानीय पहल, नीति निर्माणमा सहभागिता र जनचेतना अभिवृद्धि जस्ता विषयमा विचार विमर्श गरे।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीले नगरपालिकाले युवाको क्षेत्रमा गरेका सकारात्मक प्रयासबारे चर्चा गर्दै भावी दिनमा युवा पुस्ताको समृद्धि र विकासका लागि सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे धारणा राखिन्।
कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव खिमबहादुर जिसी, महिला विकास शाखा प्रमुख सुशीला पन्थ, सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य, उपाध्यक्ष हरिलाल शर्मा, कार्यक्रम प्रबन्धक आरटी खानलगायतले युवाको क्षमता विकासमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा जलवायु परिवर्तनमा युवाको भूमिकाबारे सरोज बेल्वासेले प्रस्तुति दिएका थिए। त्यस्तै, नगर युवा परिषद्का उपाध्यक्ष मधुसुदन भुसाल, नगर युवा संजाल अध्यक्ष अर्चना आचार्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, साथै सारेपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बृन्द बहादुर गुरुङलगायतले आफ्नो विचार व्यक्त गरे।
कार्यक्रमको सहकार्य वाणगंगा नगरपालिका र स्ट्रोम फाउन्डेशन नेपालले गरेका थिए।







प्रतिक्रिया