१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

तत्काल मलको सहज आपुर्ति गर्न माग गर्दै जसपाद्वारा प्रशासनमा धर्ना



कपिलवस्तु ।

रासायनिक मलको चरम अभाव र कालोबजारीले किसान छटपटाइरहँदा पनि सरकार उदासीन बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।

बुधबार दिउँसो एक घण्टासम्म चलेको धर्नामा सहभागी नेता(कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै तत्काल मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरे।

जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव तथा केन्द्रीय सदस्यहरू अब्दुल रसिद खाँ र रामनिवास यादवको नेतृत्वमा भएको प्रदर्शनमा किसानहरूले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाइएको थियो।

धर्नालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले अन्नको भण्डार मानिने कपिलवस्तुमा मल नपाउँदा किसानहरू चरम मारमा परेको बताए।

‘सप्रिरहेको धानबालीका लागि युरिया र डीएपी मल चाहिएको बेला किसानहरू त्यसबाट वञ्चित हुनुपरेको छ,’ अध्यक्ष यादवले भने, ‘तर सरकार अनेक बहाना बनाएर किसानलाई झुक्याइरहेको छ।’

उनले सीमित मात्रामा आउने अनुदानको मलमा समेत कृषि सहकारीहरूको हालीमुहाली चल्ने गरेको र भारतबाट दुई(चार बोरा मल ल्याउने किसानलाई समेत सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो गरे।

‘सरकारले तत्काल मल उपलब्ध गराउनुपर्छ, अन्यथा किसानहरू सशक्त आन्दोलनमा उत्रिनुको विकल्प छैन,’ उनले चेतावनी दिए।

सोही अवसरमा बोल्दै पार्टीका केन्द्रीय सदस्य खाँ र यादवले अन्नभण्डारको रूपमा चिनिने कपिलवस्तुका किसानले हरेक वर्ष मलको समस्या झेल्नुपरेको भन्दै सरकारले तत्काल आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २८ श्रावण २०८२ बुधबार ००:००  ९ : १९ बजे