बिजयनगर ।
स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कपिलवस्तु जिल्लाको उत्कृष्ट गाउँपालिका बिजयनगर बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ताजा नतिजा अनुसार बिजयनगर गाउँपालिकाले ८७.२५ प्रतिशत अंक ल्याउँदै जिल्लामा गाउँपालिका तर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको मूल्याङ्कन गर्दै आएको छ ।
ती सूचकहरूको मूल्याङ्कनमा बिजयनगर गाउँपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्च संरचना अनुरूप समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने कामलाई प्रभावकारी बनाएपछि जिल्लाको उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।
बिजयनगर गाउँपालिकाले विकासका पाँचै क्षेत्र—आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, र सुशासन तथा संस्थागत विकासमा सन्तुलित बजेट विनियोजन गर्दै नतिजामूलक कार्यान्वयन गरेकाले उत्कृष्ट स्थानमा आउन सफल भएको गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया