१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमाले वाणगंगा : आफ्नै भवन निर्माणकाे तयारीमा



बाबुराम रायमाझी

नेकपा (एमाले) वाणगंगा नगरकमिटीले आफ्नै सुविधा सम्पन्न भवन निर्माणको तयारी थालेको छ। वाणगंगा नगरपालिका–२, पिपरामा रहेको पार्टीको नाममा दर्ता भएको ०–०–१७ धुर जग्गामा थप ०–०–१० धुर जग्गा खरिद गरी २ तले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्ने निर्णय नगरकमिटीको बैठकले गरेको हो।

यसका लागि बिश्व कार्कीको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा नगरअध्यक्ष सोमनाथ अर्याल, वडा अध्यक्ष विष्णु पौडेल, जिल्ला विद्यालय विभाग सदस्य कमल क्षेत्री, नगर उपाध्यक्ष भिम थापा, सचिव चेतनारायण भण्डारी, मुक्तबहादुर कार्की, नहकुल शाही, कृष्णप्रसाद गैरे, सरोजमणि पौडेल र नरेन्द्र बस्याल सदस्य रहेका छन्।

भवनको नाम मनमोहन स्मृति भवन” राख्ने निर्णय समेत बैठकले गरेको छ। भवन निर्माणको प्रारम्भिक चरणमै सहयोग प्राप्त भएको छ। नगर उपसचिव जगतराज रेग्मीले १ लाख ११ हजार १ सय ११ र जिल्ला विद्यालय विभाग सदस्य तथा वरिष्ठ समाजसेवी कमल क्षेत्रीले ५५ हजार ५ सय ५५ सहयोग उपलब्ध गराउने प्रतिवद्ता व्यक्त गरेका छन्। बैठकले उनीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको थियो।

यसैबीच, बैठकले वाणगंगा नगरपालिका देशका ७५३ पालिकामध्ये स्वमूल्यांकन, सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन र आर्थिक जवाफदेहिताको आधारमा ८औं स्थानमा उक्लिन सफल भएको सुखद समाचारलाई साझा गर्वको विषय भन्दै नगर प्रमुख, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण नगरबासीप्रति आभार प्रकट गरेको छ।

कार्यक्रम वाणगंगा नगरअध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य डम्बर शर्मा र जिल्ला कमिटी उपाध्यक्ष शंकर पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण नगर सचिव चेतनारायण भण्डारीले गरेका थिए।

प्रकाशित मिति : ११ भदौ २०८२ बुधबार ००:००  ९ : १५ बजे