१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

काङ्ग्रेस लुम्बिनीले विक्रम सिंह थापालाई गर्‍यो पद मुक्त



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले विक्रम सिंह थापालाई पद मुक्त गरेको छ ।

लुम्बिनी प्रदेश कार्यसमिति समेत रहेका थापालाई पदबाट हटाइएको पार्टी सभापति अमर पुनले बिज्ञप्ति मार्फत जनाएका छन् ।

सभापति पुनले नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित) को परिच्छेद–७ को धारा १३ (१) को उपधारा (१०) बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरेका हुन् ।

थापा नेपाल प्रहरीका पूर्व एसएसबी हुन् । उनी ०७९ सालको आम निर्वाचनमा कपिलवस्तु २ को प्रदेश सभा ‘क’ मा लुम्बिनी प्रदेश सांसदको उम्मेदवार थिए ।

जागीरबाट अवकाश भएपछि काङ्ग्रेसको राजनीतिमा सक्रिय उनी कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका बासिन्दा छन् । उनी राजनीति गर्नकै लागि यहाँका बासिन्दा भएका हुन् ।

उनलाई पार्टी भित्र समुह बदलेको कारण जिम्मेवारीबाट मुक्त गरिएको हुन सक्ने आशंका छ । पार्टीका पूर्व जिल्ला सभापति एवं लुम्बिनी प्रदेशका काङ्ग्रेस महामन्त्री सुरेन्द्रराज आचार्यको खेमामा रहेका उनी पछिल्लो समय फरक कित्तामा थिए ।

चुनावमा आचार्य संघीय सांसदमा निर्वाचित भएपनि थापा प्रदेश सभामा पराजित भएका थिए । त्यसपछि दुबै बीच सम्बन्ध चिसिएको जनाइएको छ ।

व्यक्तिगत टकराब कै कारण थापालाई पद मुक्त गरिएको हुन सक्ने उनी पक्षीय नेता तथा कार्यकर्ताको तर्क छ ।

प्रकाशित मिति : १७ भदौ २०८२ मंगलबार ००:००  ८ : २२ बजे