१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

कपिलवस्तुबाट ८९ जना सडकआश्रित मानवको उद्धार



दिपा महत, तौलिहवा ।
पछिल्लो ७ वर्षको अवधीमा कपिलवस्तुका विभिन्न स्थानबाट ८९ जना सडकआश्रित मानवकोे उद्धार गरिएको छ । मानव सेवा आश्रमले खुला आकाशमुनी सडकपेटी एवम सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सडकआश्रित मानवकोे उद्धार गरेको हो । मानव सेवा आश्रमले बुधबार जिल्ला समन्वय समिती कपिलवस्तुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले २०७५ सालदेखि अहिलेसम्म ५४ जना पुरुष र ३५ महिला गरी ८९ जनालाई उद्धार गरिएको जानकारी दिनुभयो ।

जसमध्ये सबैभन्दा बढी शिवराज नगरपालिकाबाट ३४, बाणगंगाबाट २०, कपिलवस्तु १६, बुद्धभूमि ८ र कृष्णनगर नगरपालिकाबाट ५ जनाको उद्धार गरिएको छ । यसैगरी मायादेवी गाँउपालिकाबाट २, विजयनगर ३ र शुद्धोधन गाँउपालिकाबाट एक जनाको उद्धार गरिएको हो । यसैगरी मावव आश्रमले अहिलेसम्म १२ हजार ५२ जनाको उद्धार गरी ४ हजार ९ सय ३२ जनालाई परिवारमा पूर्नरमिलन गराएको छ ।
कार्यक्रममा अध्यक्ष अधिकारीले कपिलवस्तुलाई सडक आश्रित मानवमुक्त घोषणा गर्ने महाअभियानमा साथ र सहयोग गर्न जिल्लाका सबै निकाय तथा सरोकारवालालाई आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित सरोकारवालाले जिल्लालाई सडकआश्रित मानवमुक्त बनाउने महाअभियानमा सहयोग तथा सहकार्यगर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष अधिकारीले कपिलवस्तुका धेरै पालिकाले आफुहरुसंग समन्वय तथा सहकार्य गर्दै आएको भन्दै केहि पालिकाले भने बजेट बिनियोजन नगरेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले मानव आश्रमले गरेको काम स्रहानीय रहेको भन्दै यस्ता परोपकारी संघसंस्थालाई स्थानीय तथा प्रदेशसरकारले सहयोग तथा समन्वय गर्नुपर्ने बताउनुभयो । मानव सेवा आश्रमले हजारौ असहाय तथा सडकमा जीवन बिताउन बाध्य मानवलाई पुर्नजीवन दिएको भन्दै सिंगो देशलाई नै सडक आश्रित मानवमुक्त बनाउने महा अभियानमा आफुको पनि पूर्ण साथ तथा सर्मथन रहने बताउनुभयो ।
यस्तै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्र अर्यालले सडक मावनहरुको पहिलो उद्धारकर्ता स्थानीय सरकार रहेको भन्दै स्थानीय तहले पूर्ण जिम्मेवारी लिएर त्यस्ता ब्यक्तीको उद्धारमा लागेको बताउनुभयो । मानव सेवा आश्रमका कारण आफुहरुलाई समन्वय गर्न सहज भएको भन्दै बाणगंगामा सडकआश्रित मानव नरहेको बताउनुभयो । त्यस्ता ब्यक्ती भेटिएमा नगरपालिकाले मानव आश्रमसंग सहकार्यगर्दै उनिहरुको उद्धारमा लागेको बताउनुभयो । सामाजिक कार्यमा रहेको मान आश्रमलाई बाणगंगले आर्थिक सहयोग गर्दै आएको भन्दै सरकारले अभियानलाई आश्रमले लिएकोमा धन्यवाद दिनुभयो साथै कपिलवस्तुसंगै देशलाईनै सडकआश्रित मानवमुक्त बनाउने अभियानमा पूर्ण सर्मथन रहने बताउनुभयो ।
यसैगरी शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले महान तथा पुण्यको काममा रहेको मानव सेवा आश्रमकै कारण हजारौ जनाले नयाँ जीवन पाएको बताउनुभयो । शिवराजमा रहेका सडकआश्रित मानवलाई उद्धार गरिएको भन्दै अब सडकमै मर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नेपाल सरकारले नीतिको रुपमा अगाडी सारेको यस अभियानमा आफुहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधी, र्कचारी, प्रहरी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो कार्यक्रमको संचालन जिल्ला समन्वय समितीका समन्वय अधिकारी जर्नादन अधिकारीले गर्नुभएको थियो । मानव सेवा आश्रमले सहयोगापेक्षी, सडक आश्रित मानवहरुको मानवोचित ब्यवस्थापनसहित औषधीउपचार, पालन पोषण र जीवन रक्षाका लागि मानव सेवा आश्रम मानवता प्रर्वद्धन महाअधियान संचालन गरेको छ । जसले सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा एवम कार्यान्वयनमा कार्यान्वयन गर्नेछ ।

प्रकाशित मिति : १८ भदौ २०८२ बुधबार ००:००  ६ : ०० बजे