१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

कपिलवस्तुमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाः १७ सय सुरक्षाकर्मी परिचालन



कपिलवस्तु ।
विजया दशमी, शुभ दीपावली र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सम्भावित घटना र अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १७ सय सुरक्षाकर्मी जिल्लाभर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला सुरक्षा समितिको संयोजनमा तयार गरिएको संयुक्त सुरक्षा योजनाअनुसार एक हजार नेपाल प्रहरी, पाँच सय सशस्त्र प्रहरी र अन्य जिल्लाबाट ल्याइएका दुई सयभन्दा बढी सुरक्षाकर्मी जिल्ला परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए। उनका अनुसार चाडपर्वका समयमा शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन विशेष रणनीतिक कार्ययोजना तयार गरिएको छ।

प्रजिअ तामाङले भने, ‘चाडपर्वकै बेला हुने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य बिष्फोटक पदार्थको अवैध कारोबार, चोरी–लुटपाट, जुवातास, मदिरा तथा लागुऔषध सेवनबाट हुने होहल्ला, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको छ।’ हालै जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरु कारागारबाट फरार भएको घटनालाई समेत मध्यनजर गर्दै यसपालि सुरक्षा सतर्कता अझ बढाइएको प्रजिअ तामाङले बताए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नं २८ गणले संयुक्त रूपमा रणनीतिक योजना बनाएको जनाएको छ। त्यस्तै, पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रात्रीकालीन गस्ती, सीमा क्षेत्रमा निगरानी र संवेदनशील स्थानमा सुरक्षा चेकजाँचलाई कडाइ गर्ने निर्णय भएको कपिलबस्तुका प्रहरी उपरीक्षक ९एसपी० सन्तोष आचार्यले बताए।

यससँगै नेपाली सेनाले पनि आफ्नो वार्षिक तालिकाअनुसार एआरबी गस्ती गर्ने तथा नियमित गस्तीमार्फत सीमा क्षेत्रमा निगरानी बढाउने बताएको छ। सुरक्षा निकायका प्रमुखहरूले चाडपर्वको समयमा जिल्लावासीलाई निश्चिन्त भएर पर्व मनाउन सक्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था लागू गरिएको बताएका छन्।

साथै भारतबाट स्वदेश आउने नेपालीहरुका लागि पनि सहज रुपमा गन्तव्यसम्म पुग्नको लागि सहजीकरण समेत गरिएको बताइएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२ शुक्रबार ००:००  ८ : ३८ बजे