१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

विदाको बेला वन अधिकृत मिश्राद्धारा अवैध काठ निकासी, स्थानीय समुदायकाे घेराबन्दी



पिपरा।

कपिलवस्तुको बाणगंगा नगरपालिका कोठी पिपरा अन्तर्गत मायादेवी साझेदारी वनबाट अवैध काठको ओसार पसार भएको पाइएको छ । विदामा पनि कार्यालय बसेका सव डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राको संलग्नतामा अवैध काठ निकासी भएको हो ।

दशैं विदाको मौका छोपी यसरी अवैध धन्दा गर्न थालेको सुईको पाएपछि स्थानीय र उपभोक्ताले घेरा हालेर प्रहरीलाई बुझाएका थिए । आज विहान अष्टमीको दिन दशैको चहलपहलको मौका छोपेर कार्यालय प्रमुख मोहन मिश्राको निर्देशनमा काठको अवैध निकासी भएको स्रोतले जनायो ।

लु ३ त ६२९५ नम्बर को ट्याक्टरमा निकासी गर्दै गरेको अवस्थामा अवैध ७ थान सालका गोलिया प्रहरीलाई बुझाएको स्थानीय गोपाल पाण्डेले बताए । अन्य ७ गोलिया बनमै उठाउने तयारीमा रहेको बुझिएको छ ।

यस्तो छ अवैध धन्दा
लु ३ त ६२९५ नं को ट्याक्टरमा ल्याईएको उक्त काठ गत आर्थिक वर्षको वैशाख महिनामा कटान भएको अधिकृत मिश्र बताउछन् । सोही लटका अन्य काठ जेष्ठ र असारमा ठुवानी गरी घाटगद्दीमा संकलन भएको भएतापनि उक्त काठ जंगलमै छोडिनु र हाल विदाको समयमा विना चलानी प्रेवश अनुमती र चलानीपत्र विना वन प्रवेश गरि निकासी गर्नु रहस्यमय छ ।
यस विषयमा डिभिजन बन कार्यालय कपिलवस्तुका वन अधिकृत मदन ढुंगानाले सो लटको काठ घाटगद्दीमा नभेटिएपछी खोजतलास गर्न भनेको तर आज उठाउने विषयमा कुनै सुचना नभएको स्पष्ट पारे ।

मिश्राले म्याद थप विना संकलन र विना चलानी अन्दाजी सय क्यू फिट काठ दिन दहाडै निकासी गरि संकास्पद गतिविधि गरेको हुँदा छानविन गर्नुपर्ने स्थानीयहरु बताउँछन् । मिश्राले चलानी र वन प्रवेश पुर्जी विना काठ ल्याउनु गल्ती भएको स्वीकार गरेका छन् । काठ संकलनको लागि वन प्रवेश र ढुवानीका लागि डिभिजन वन कार्यालयबाट अनुमती र चलानी आदेश अनिवार्य हुन्छ । साथै साउनदेखि कार्तिकसम्म वन प्रवेश, कटान, संकलन र ढुवानी बन ऐन तथा कानुन विपरित हुन्छ ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले समुदायले नियन्त्रणमा लिई सूचनाका आधारमा प्रहरी पुगेर ल्याएको काठको आवश्यक अनुसन्धान गरि कानुनी प्रकृया अगाडी बढाउने काम भएको बताए । उक्त बरामद काठ बरामद मुचुल्का उठाई सम्वन्धित निकायमा पेश गर्ने प्रहरी निरिक्षक जिसीले बताए ।

२०८२ जेष्ठ ८ गते मायादेवी साझेदारी वनको सुधार कटान प्लट नं ६ बाट १४ थान काठको गोलिया मिश्राकै संलग्नतामा गाएव भएको श्रोतले बताउछ । सोही काठ मिलान गर्न अवैध धन्दा गरि मिश्राले यसबाट पुर्ती गर्न कानुन विपरित यो कदम उठाएको एक कर्मचारीले बताए ।

असुली धन्दामा लम्पट अधिकृत
सव डिभिजन बन कार्यालय पिपराको नेतृत्वमा मिश्रा आएपछी असुली धन्दामा लम्पट भएका हुन् । डिभिजन बन अर्न्तरगत ८ वटा सामुदायिक वन र मायादेवी साझेदारीमा वन व्यवस्थापन समिति रहेका छन् । ती समितिहरुमा आफू अनुकुल कार्ययोजना बनाउने, स्वीकृत गर्ने , प्रविधिक सहयोग र नियमनका नाममा समुहहरु मार्फत आर्थिक लाभ लिनेमा मिश्राको नाम अग्र पंक्तिमा आउछ । समूहका एक अध्यक्षले नाम नबताउने शर्तमा भने प्रति सामुदायिक वन सव डिभिजन कार्यालय र इन्धन, अतिथि खर्चका नाममा २ देखि ३ लाख उठाउने गरेको बताए । उक्त्त प्रस्ताव उपर पदाधिकारी असन्तुष्ट भएको मायादेवी अनलाइनलाई बताए ।

त्यसो त काठ कटान हुँदा प्रति सेप्टी १० देखि १५ रुपैयाका दरले उनैलाई छुट्याउनुपर्ने बाध्यता समेत भएको समूहका पदाधिकारीहरु बताउछन् । मिश्राको अवैध धन्दा यतिमै सिमित कहाँ छ र ?

समूहका टाचाँ नविकरणका नाममा भेटी नचढाई नविकरण नगर्ने भन्दै खुलेयाम रकम माग गर्ने गरेको समेत बनका जिम्मेवार तहमा बसेकाहरुले पट्क पट्क गुनासो गर्दै आएका थिए । बनको अन्य प्राविधिक कार्यमा समेत प्रमुखले नै आन्तरिक रुपमा निर्देशन दिएर आर्थिक लाभ लिएको समितीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२ मंगलबार ००:००  ३ : ४८ बजे