२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दुर्गा भगवती मन्दिर बैरियाको दशैं विशेष कार्यक्रमको आय–व्यय सार्वजनिक



कपिलवस्तु । वाणगंगा–१, बैरियास्थित श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिले विजया दशमीको अवसरमा आयोजना गरेकाे विशेष पूजाआजा र सांस्कृतिक कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरेको छ।

मन्दिर परिसरमा आज सम्पन्न समितिको वैठकले नवरात्रभर सञ्चालन भएका पूजाआजा, कालरात्री विशेष सांस्कृतिक कार्यक्रम, कन्या पूजन तथा पूर्णिमा सराय नाँच लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। समितिले कुल ३ लाख १२ हजार ७ सय ८० रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गर्दै खर्च कटाएर १ लाख १३ हजार ५ सय रुपैयाँ बचत भएको जानकारी दिएको हो।

कोषाध्यक्ष घनश्याम घिमिरेका अनुसार दशैं अवधिभर विभिन्न सहयोगी दाता र भक्तजनबाट प्राप्त आर्थिक सहयोगले कार्यक्रम सम्पन्न गर्न सहयोग पुगेको हो। त्यस्तै समाजसेवी ज्येष्ठ नागरिक यज्ञ प्रसाद भट्टराईले भक्तजनको सुविधाका लागि इनभर्टर र ब्याट्री सहयोग गरेकामा समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

अक्षय कोष स्थापनार्थ ६० हजार रुपैयाँ सहयोग प्रदान गर्ने समितिका सल्लाहकार घनश्याम घिमिरे सहित अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउने व्यक्तित्वहरुलाई समेत विशेष स्मरण गरिएको छ । समितिका अध्यक्ष तिलक बहादुर खत्रीले नवरात्रका पूजाआजा, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरू सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण दाता, संघसंस्था र भक्तजनप्रति आभार व्यक्त गर्नुभयो ।

वैठकमा सचिव महेश राज पन्थ, उपाध्यक्ष भुवन न्यौपाने लगाएतले संस्थाको आय व्यवलाई पारदर्शी ढंगले राखेकोले आगामी दिनमा समेत मन्दिर व्यवस्थापन समितिलाई स्थानीयको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा निवर्तमान अध्यक्ष चुरामणी अधिकारी, वडा सदस्य टोपकला िवसी, सल्लाहकार डोलकराम घिमिरे, तथा बैरिया युवा समाजका अध्यक्ष विष्णु घिमिरे लगायतको उपस्थिती रहेको थियो। समितिले विशेषगरी बैरिया युवा समाजको सक्रियता र सहयोगप्रति विशेष धन्यवाद प्रकट गरेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८२ शनिबार ००:००  ८ : ०३ बजे