३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025

कपिलवस्तुमा १ सय २८ जना नयाँ कुष्ठरोगी फेला



दिपा महत, तौलिहवा ।

कपिलवस्तुमा एक वर्षमा १ सय २८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । यससंगै जिल्लामा कुष्ठरोगीको संख्या १ सय ३१ पुगेको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्य प्रस्तुत गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ कुष्ठरोग निरिक्षक मोहम्मद इरफानका अनुसार १० पालिकामध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ नयाँ कुष्ठरोगी फेला परेका छन् । यसैगरी विजयनगर गाँउपालिकामा २०, शिवराज र बुद्धभूमि नगरपालिकामा १५- १५ जना, महाराजगंजमा १३, कपिलवस्तुमा ११ र बाणगंगा नगरपालिकामा ६ जना कुष्ठरोगी रहेका छन् । यस्तै शुद्धोधनमा १३, यशोधरामा ११ र मायादेवी गाँउपालिकामा ३ जना कुष्ठरोगी फेला परेको वरिष्ठ कुष्ठरोग निरिक्षक मोहम्मद इरफानले बताउनुभयो । अन्यापालिकामा भन्दा मायादेवीमा काम गर्न काम गर्न असहज भएको उहाको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरब ढकालले कपिलवस्तुमा कुष्ठरोगीको संख्या उच्च रहेको भन्दै घरघरमा गएर खोजी कार्य गर्नुका साथै शिविर संचालन गर्दा लुकेर बसेका केशहरु बाहिर आएको बताउनुभयो । प्रमुख ढकालले धेरै संख्यामा शिविर संचालन गर्दा नयाँरोगी पनि उच्च मात्रामा भेटिएको बताउनुभयो ।

समाजमा कुष्ठरोगप्रतिको गलत बुझाई, रोगीलाई लगाइने लान्छाना, भेदभाव लगाएतका कारणपनि कुष्ठरोग नियन्त्रण तथा परिक्षण जटिल बन्दै गएको बताउनुभयो । कुष्ठरोगको औषधि निःशुल्क रुपमा रहेको र उपचारमा पैसा नलागेपनि गलत बुझाइकै कारण रोग लुकाएर बस्ने गरेको बताउनुभयो । संचारमाध्यमले पनि कुष्ठरोगबारे जनमानसमा रहेको भ्रम हटाउने गरी कलम चलाउन आग्रह गर्नुभयो ।

कुष्ठरोग किटाणुका कारण लाग्ने भन्दै जुनसुकै उमेरसमुहका जोसुकैलाई पनि लाग्न सक्ने बताउनुभयो । कुष्ठरोग औषधीको सेवनले निको हुने भएपनि समाजकै डरकै कारण मानिस लुकेर अन्य जिल्ला तथा पालिकाबाट औषधी सेवन गर्न बाध्य हुनेगरेको भन्दै समाजमा रहेको गलत बुझाईलाई चिर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले २०३०मा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

उपचारमा आउने कुष्ठरोगीलाइ सरकारले यातायात खर्च अनुसार एक हजार रुपैया उपलब्ध गराउने गरेको छ । तर सामाजिक मुल्य मान्यता तथा लाज, डरका कारण विरामी रोग लुकाएर बस्ने गरेका छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, ल लेप्रोसी मिसन नेपाल तथा पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन ल्याब टेक्निसियन श्रीधर खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२ सोमबार ००:००  ७ : ०८ बजे