वाणगंगा ।
कपिलवस्तुका वरिष्ठ डिभिजनल बन अधिकृत ईश्वरी प्रसाद पौडेल र सबडिभिजन वन अधिकृत मोहन मिश्रा बीच साेमबार राति बाणगंगाको एक होटलमा गोप्य भेटवार्ता भएको खुलेको छ।
मायादेवी साझेदारीको पिपरा कोठिबाट अबैध काठ निकासीको आरोप लागेका अधिकृत मिश्रा अहिले छानबिनको दायरामा छन्। दशैको अष्टमीका दिन काठ प्रकरणको घटना सार्वजनिक भएपछि उनी बिदामा भारत गएका थिए। करिब १२ दिनपछि सोमबार नेपाल फर्किएका मिश्रले राति ९ बजेतिर आफ्ना हाकिम पौडेलसँग होटलमा गोप्य भेटघाट गरेका हुन्।
स्रोतका अनुसार वरिष्ठ अधिकृत पौडेल कार्यालयको सरकारी गाडी चढेर होटल पुगेका थिए भने त्यसकाे केही बेरपछि अधिकृत मिश्रा मायादेवी साझेदारी बन समितिको पल्सर मोटरसाइकलमा त्यहा पुगेका थिए। पौडेलको गाडी होटलदेखि केही पर रोकिन्थ्यो भने मिश्राको मोटरसाइकल होटल अगाडि नै पार्क गरिएको थियो।
घटनाबारे जिज्ञासा राख्दा वरिष्ठ बन अधिकृत पौडेलले आफू साथीहरूसँग बसिरहेका बेला अधिकृत मिश्रा आएको स्वीकार गरेका छन्। उनले भने, “ नियमतबस नभएको र अन्य साथीहरूसँग बसिरहेको थिएँ, मिश्रा कहाबाट आए मलाई जानकारी छैन।” मिश्रालाई संरक्षण गरेको हो भन्ने प्रश्नमा पौडेलले घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन्। सोही दिन निर्देशनालयको टोली आएर छुट्टै छानबिन गरिरहेको समेत उनले जानकारी दिए ।
कार्यालय समयपछि सरकारी गाडी प्रयोग गरी होटलमा बसेर खानपिन गर्नु पदिय दुरुपयोग र अनियमितताको उदाहरण भएको स्थानीयले बताएका छन्। यस घटनाले अबैध काठ निकासी प्रकरणलाई अझ शंकास्पद बनाएको, स्थानीय प्रत्यक्षदर्शीले मायादेवी अनलाइनलाई बताए ।
जेनजी आन्दोलनपछि सरकारले मितव्ययिताको नीति अवलम्बन गर्दै सरकारी गाडीकाे उपयाेग र इन्धनको खर्च कटौती गर्ने निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन।







प्रतिक्रिया