कपिलवस्तु ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाणगंगा ४, कपिलवस्तुको २७औं वार्षिक साधारण सभा आज ठाकुरापुरमा सम्पन्न भएको छ ।
२०५५ सालमा स्थापना भएको सिद्धार्थ सहकारी नगरकै पहिलो सहकारी संस्था हो, जसमा महिलाको उल्लेखनीय सहभागिता रहँदै आएको छ । ‘सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाइ सिद्धार्थ सहकारी’ भन्ने मूल नाराका साथ सहकारीले हाल भलवाड बाहेकका नगरका सबै वडामा आफ्ना समूहहरू विस्तार गरेको छ भने अाेदारीमा सेवा केन्द्र संचालन गरेकाे छ ।
सहकारीका व्यवस्थापक हरिलाल शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार हाल सहकारीमा १ सय १४ वटा समूहअन्तर्गत ५ हजारभन्दा बढी सदस्य आवद्ध छन् । संस्थाको कुल वित्तीय अवस्था रु. २५ करोड ५३ लाख ७६ हजार बराबर रहेको छ । सोमध्ये ३ करोड बराबरको शेयर पूँजी तथा १८ करोड ४१ लाख ६८ हजार ८ सय ७८ बराबरको बचत तथा निक्षेप संकलन भएको उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्वीनि प्रदेश सहकारी संघ लेखा समिती संयाेजक तेजप्रसाद आचार्यले सहकारी सदस्यहरूलाई आर्थिक अनुशासन र क्रियाशीलता बढाउन आग्रह गरे । उनले ऋण लिने र नलिने दुवै किसिमका सदस्यले सहकारीको श्रीवृद्धिमा सचेत भूमिका खेल्नुपर्नेमा जोड दिए । सहकारीले स्थानीय स्तरमा पूँजीको सशक्त विकासका लागि व्यवसायिक नीति अवलम्बन गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष सरितादेवी ढकाल, सूर्यकुमारी शाही, र सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तिलोचन घिमिरे लगायतका वक्ताहरूले सहकारीले सदस्यको हकहितमा नयाँ अवसर सिर्जना गर्दै व्यावहारिक कार्यमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।
सिद्धार्थ सहकारीकी वर्तमान अध्यक्ष देवकला सुवेदीले संस्थाले सदस्यलाई व्यवसायिक बनाउँदै आत्मनिर्भर र स्वावलम्बी बनाउने योजना अघि बढाएको बताइन् । सहकारीकी सचिव शोभा आचार्यले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम, मूल्य–मान्यता र सहकारीको आगामी योजनाबारे जानकारी गराइन् ।
सहकारीका कोषाध्यक्ष हरि अधिकारीले आर्थिक वर्ष २०८२।०८३ का लागि रु ३५ लाख ६५ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरे, जसमा सदस्यहितका विभिन्न लोकप्रिय कार्यक्रम समावेश गरिएको छ ।
त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तिलोचन घिमिरेले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारीकी उपाध्यक्ष गिता भुसालले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन सचिव शोभा आचार्यले गरेकी थिइन् । साधारण सभाको अध्यक्षता संस्थाकी अध्यक्ष देवकला सुवेदीले गरेकी थिइन् । सोही अवसरमा सहकारीले राहत तथा उद्धार सहयोग कोषबाट समुहका ३ जना सदस्यलाई आर्थिक सहयोग प्रदान गरेको छ ।








प्रतिक्रिया