मायादेवी अनलाइन, वाणगंगा ।
नवप्रभात सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार वनकै कार्यालय परिसर घाटगद्दीमा सम्पन्न भएको साधारण सभाबाट आर्थिक वर्ष २०८२/८३ को निति तथा कार्यक्रम पारित गरेको छ ।
साधारण सभामा बोल्ने वक्ताहरुले वन संरक्षण र प्रर्बद्धनका लागि सबै एकजुट बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि चक्रपाणी अर्यालले सामुदायिक वनले वातावरणीय सन्तुलन मात्र नभई आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुर्याएको बताउनुभयो । उहाँले दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायको अग्रणी भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै वन संरक्षणलाई नगरको प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय सरकार आईसकेपछि वनले सामाजिक विकासमा नयाँ आयाम थप्ने काम गरेको बताउदै सामुदायिक वन समृद्धिको बाहक सावित भएको बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी प्रसाद पौडेलले सामुदायिक वन नेपालको सफल मोडेल भएको बताउँदै सामुदायिक वनमार्फत जनजीवनमा आएको सुधार उल्लेखनीय रहेको बताउनुभयो । उहाँले वनको दीगो उपयोगका लागि वैज्ञानिक दृष्टिकोण र सहकार्य अपरिहार्य रहेको जोड दिनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं.८ का वडाध्यक्ष बाबुराम अर्यालले स्थानीय तहले सामुदायिक वनसँग सहकार्य गर्दै विकास, संरक्षण र सरोकारवाला समूहबीचको सन्तुलन कायम गर्न निरन्तर सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, वैज्ञानिक वन व्यवस्थापन महासंघकी अध्यक्ष रेनु सेनले वनको वैज्ञानिक व्यवस्थापनले वनस्पति मात्र नभई जीव–जन्तु र वातावरण संरक्षणमा पनि टेवा पुर्याउने बताउनुभयो । उहाँले महिलाको सहभागितालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक वनका अध्यक्ष डिल्लीराज रेग्मीले वनले गरेका उपलब्धिहरू र आगामी योजना चर्चा गर्दै आय–आर्जनका कार्यक्रम, वृक्षरोपण अभियान, सामुदायिक भवन निर्माण र दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले नवप्रभात सामुदायिक वनले आर्थिक पारदर्शीता र सुशासन कायम गर्दै सफल भएको जिकिर गर्नुभयो । अख्तियारमा पने उजुरीबाट आफुहरु विचलित नहुने भन्दै उहाँले केही सल्लाह, सुझाव र समस्या भए प्रत्यक्ष रुपमा आफुसंग राख्न आह्वान समेत गर्नुभयो ।
सभालेचालु आवका लागि वन संरक्षण, वातावरणीय सचेतना, रोजगारीमूलक कार्यक्रम र महिला सशक्तीकरणका योजनासहितको प्रस्तावित बजेट पारित गरेको छ । सो क्रममा रु.४ करोड ८९ लाख ९७ हजार ७९५ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।
सभामा सचिव सिता भुसालले आथिक बर्ष २०८१/०८२ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी भुसालले आर्थिक प्रगति प्रतिवेदन, लेखा संयोजक रामप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरु सभाले सर्वसम्मत पारित गरेको छ ।
यसैबीच सोही कार्यक्रममा वनले युवाहरूलाई खेलकुद सामग्री र भजन मण्डलीलाई सांगीतिक सामग्री समेत वितरण गरेको छ । युवाहरुलाई क्रिकेट ब्याट, बल लगायतका खेलकुद सामग्री वितरण गरिँदा, स्थानीय भजन मण्डलीलाई मादल, खैजडी र मजुरा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वनका उपाध्यक्ष मित्रलाल कडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव सिता भुसालले गर्नुभएको थियो ।
वनमा सबैकाम पारदर्शी रुपमा भएको भन्दै वनको संरक्षण र प्रर्बद्धनका लागि एकजुट हुन सचिव भुसालले आग्रह गर्नुभयो ।
उक्त सभामा स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता, सामुदायिक अगुवा, सरकारी अधिकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया