१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अझै हुन सकेन हात्तीपाइले निवारणः कपिलवस्तुमा १७औं पटक सञ्चालन गरिँदै ‘आम औषधि सेवन अभियान’



भुपाल थापा, कपिलवस्तु ।

कपिलवस्तुमा अझै पनि हात्तीपाइले रोग निवारण हुन सकेको छैन । जिल्लामा हात्तीपाइले रोग निवारणका लागि विभिन्न चरणका अभियान भइरहे पनि जिल्लामा हालसम्म निवारण हुन नसकेको जनाइएको छ । हात्तीपाइले रोग निवारणका लागि हरेक वर्ष आम औषधि सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जनाइएको छ । १७औं चरणअन्तर्गत लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा यस पटक पनि यो अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताउनुभएको छ ।

सन् २००३ बाट नेपालमा अभियानका रुपमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरिएको थियो । तौलिहवामा आज सम्पन्न हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान संचारकर्मीसंगको छलफल कार्यक्रममा सत्रौं चरणको अभियान आगामी मंसिर ७ गतेदेखि सञ्चालन हुने उहाले जानकारी दिनुभयो । कपिलवस्तुमा १६औं पटक सो अभियान सञ्चालन गरेपनि हात्तीपाइले निवारण भएको घोषणा गर्न सकिएको छैन् । लक्ष्यअनुसार सबैलाई यो औषधि खुवाउनुपर्ने भएकाले कपिलवस्तुमा सत्रौैँ चरणको अभियान सञ्चालन गर्नुपरेको उहाले बताउनुभयो ।

इन्डेमिक जिल्लाहरु मध्ये कपिलवस्तु जिल्लाको कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिकाहरु तथा यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकाहरुमा समुदाय स्तरको संक्रमण पुनः देखा परेकाले उक्त पालिकाहरुमा आम औषधी सेवन कार्यक्रम एमडीए अभियान मंसिर ७ गतेदेखि संचालन हुने बताइएको छ । मूल्यांकन एकाईका रुपमा जिल्लाका बिभिन्न पालिकाहरुलाई दुई चरणमा बिभाजन गरिएको छ । सोहि अनुरुप कपिलवस्तु क अन्र्तगत बाणगंगा, बुद्धभूमि, शिवराज र बिजयनगर गाउँपालिका रहेका छन् भने कपिलवस्तु ख अन्र्तगत कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यसोधरा, मायादेवी र शुद्धोधन गाउँपालिका कायम गरिएको छ ।

२०२३ देखि २०२५ को हालसम्ममा कपिलवस्तुमा गरिएको सर्वेक्षण नतिजा बमोजिम शुद्धोधन गाउँपालिकामा ३०४ जना को एफटिएस टेष्ट गरिएकोमा १८ जनामा पोजेटिभ देखिएको छ । सबैले औषधी सेवन नगर्दा कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान १७ औं पटक सञ्चालन गरिने भएको हो । जिल्लामा २०६३ साल देखि अभियान सञ्चालन हुँदै आएता पनि जिल्लामा हात्तीपाइले रोगको जोखिम रहेको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वाथ्य अधिकृत रामकुमार महतोले बताउनुभयो । नेपालले सन् २०२० मा नै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, उपलब्धि हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने नयाँ लक्ष्य छ । हात्तीपाइलेको परजीवीले समस्या नपर्दासम्म केही थाह हुँदैन । लामखुट्टेबाट सर्ने यो रोग लागेर हातखुट्टा सुन्नियो भने जिन्दगीभरि सन्चो हुँदैन ।

विगतमा एल्बेन्डाजोल र डीईसी चक्की मात्र सेवन गर्नुपर्ने थियो भने यस वर्ष आइभरमेक्टिन पनि सेवन गर्नुपर्ने रहेको छ । हात्तीपाइले सँगै यो औषधि लुतो, जिम्रा पर्ने, मलेरिया लाग्न नदिन पनि काम गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । हात्तीपाइलेको औषधि खाँदा हुनसक्ने असरबारे स्वास्थ्यकर्मीहरूले पनि राम्रोसँग मानिसलाई बुझाउन नसकेको बताइएको छ । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्यु भएको, धेरै मान्छे बिरामी परेकोजस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या कम हुनसकेको छैन । हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने र वाकवाकी लाग्नेजस्ता सामान्य असर देखीन सक्ने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२ आइतबार ००:००  ७ : ४७ बजे