कपिलवस्तु — वाणगंगा नगरपालिकाका तीन विद्यालयका भवन ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र पर्दै आएका छन्। तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएपछि विद्यालयहरूको पठन–पाठन प्रभावित बनेको छ र विद्यार्थीहरू मारमा परेका छन्।
गत आर्थिक वर्षमा काठमाडौँस्थित दीर्घायु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग बाल मा.वि. बैरिया, शान्ति आधारभूत विद्यालय डुगा र कान्ता मा.वि. करेलियाका लागि ४/४ कोठे भवन निर्माण गर्न सम्झौता गरिएको थियो। गत ०८१/८२ भित्रै सम्पन्न गर्ने गरी लिइएको ठेक्का पनि पूरा नहुँदा भवन निर्माण अधुरै रहेको वाणगंगा नगरपालिकाले जनाएको छ।
तीनवटै विद्यालयका लागि १ करोड ४७ लाख ४१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। कम्पनीका प्रोपाइटर गौरव रिजालले आन्तरिक समस्याका कारण काम समयमा सम्पन्न गर्न नसकेको स्वीकार गरेका छन्।
निर्माण ढिलाइपछि नगरपालिकाले २ सय दिन म्याद थपिदिए पनि प्रगति हुन सकेको छैन। थपिएको म्यादको ४ महिना बितिसक्दा करिब ३ महिना मात्र समय बाँकी रहेको इन्जिनियर सुरज घिमिरेले जानकारी दिए।
“हामीले पटक–पटक ताकेता र पत्राचार गरिरहेका छौं। ठेकेदार सम्पर्कमा नआएर अटेरी गरेपछि ढिलाइ भएको हो,” उनले भने। कानुनी प्रक्रियाका कारण ठेकेदारलाई कालोसूचीमा राख्न समय लाग्ने उनले बताए। जरिवाना लगाएर काम गराउने समय बाँकी रहेकाे बताए ।
विद्यालयका प्रधानाध्यापकहरू समेत निर्माण ढिलाइका कारण समस्या उत्पन्न भएको बताउँछन्। बाल मा.वि. बैरियाका प्रधानाध्यापक टीकाराम पौडेलले भने, “सम्झौतापछि लामो समयसम्म काम सुरू नै नगर्दा भवन अलपत्र परेको छ। बारम्बार ताकेता गर्दा पनि काम अघि नबढ्नु सरकारी नीति र ठेकेदारको लापरवाहीकै परिणाम हो।”
संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अंतर्गत यी तीन विद्यालयका लागि कुल २ करोड २८ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर संघीय बजेटअनुसार समयमा काम सम्पन्न नभएपछि यसको दायित्व स्थानीय सरकारले व्यहोर्नु परेको नगरपालिकाले जनाएको छ।
शिक्षक र अभिभावकले अब शीघ्र काम अघि बढाउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।







प्रतिक्रिया