कपिलवस्तु ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुका दुई वरिष्ठ वन अधिकृतलाई मन्त्रालयमा तानेको छ। सब डिभिजन वन कार्यालय पिपराका बरिष्ठ वन अधिकृत मोहन मिश्र र सब डिभिजन वन कार्यालय पटनाका बरिष्ठ वन अधिकृत सन्दिप बासुकलालाई आइतबारदेखि मन्त्रालयमा हाजिर गराइएको वन तथा वातावरण मन्त्रालयका बरिष्ठ वन अधिकृत बिरेन्द्र कुमार रोकाले जानकारी दिए।
बरिष्ठ वन अधिकृत मोहन मिश्रलाई कपिलवस्तुको मायादेवी साझेदारी वन अन्तर्गत कोठी पिपरा प्लटबाट अवैध रूपमा काठ निकासी गरेको आरोप लागेको थियो।
दशैं पछि निर्देशनालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले मन्त्रालयमा बुझाएको प्रारम्भिक प्रतिवेदनमा मिश्रले गम्भीर त्रुटि गरेको ठहर गरेको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले उनलाई तानेको हो।
दशैँको बिदाको मौका छोपेर उनले जंगलबाट कुनै कागजात वा स्वीकृति नलिई काठ निकासी गरेका थिए। सोही घटना स्थानीय समुदायले थाहा पाएपछि नियन्त्रणमा लिइ प्रहरीलार्इ बुभाएका थिए । छानबिन समितिको प्रतिवेदनमा मिश्राको प्रत्यक्ष संलग्नता र काठ कहाँ लैजान खोजिएको भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने समेत बताइएको छ ।
वरिष्ठ शाखा अधिकृत लक्ष्मण लम्सालको नेतृत्वमा वरिष्ठ वन अधिकृत जितेन्द्र सिंह खड्का र डिलाराम पौडेल सदस्य रहेको समितिले छानबिन गरेको थियो।
बासुकला पनि काठ प्रकरणमा तानिए
यसैगरी, सब डिभिजन वन कार्यालय पटनाका बरिष्ठ वन अधिकृत सन्दिप बासुकला पनि मन्त्रालय तानिएका छन्। उनी यशोधरा सामुदायिक वन पचेहराबाट अन्यत्र काठ लैजान खोजेको अरोपमा गाउँले समातेको प्रकरणमा विवादमा तानिएका थिए। उक्त घटनापछि पटनाबाट उनलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाले कार्यालयमा हाजिर गराउँदै आएको थियो ।







प्रतिक्रिया