दिपा महत, बाणगंगा ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेम नारायण भण्डारीले नेपाली उत्पादन क्रमशः कमजोर भइरहेको र विदेशी उत्पादनले बजार कब्जा गर्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको प्रथम कपिलवस्तु व्यापार मेला उद्घाटन गर्दै उहाँले नेपाली उत्पादनको संरक्षणमा सरकार, राजनीतिक दल तथा निजी क्षेत्र कुनै पनि तरिकाले प्रभावकारी देखिन नसकेको टिप्पणी गर्नुभयो।
अध्यक्ष भण्डारीले नेपालमा उत्पादित वस्तुहरू प्रतिस्पर्धा गर्न नदिने वातावरण बनाइएको आरोप लगाउँदै भन्नुभयो, “दलाल र कमिसनखोरहरू मालामाल छन्, तर नेपाली उत्पादन साह्रै मारमा परेका छन्। नीति–नियममा संरक्षण भए पनि नेताहरू त्यसको प्रभावकारी कार्यान्वयन गर्न चुकेका छन्।”
उहाले भन्नुभयो, “राजनीतिको उद्देश्य सुशासन र देशको राम्रो व्यवस्थापन हो, तर अवसर, कुर्ची र पैसाका लागि राजनीति गर्ने प्रवृत्तिले देशको अर्थतन्त्र थप कमजोर बनाएको छ।” भण्डारीले व्यवसाय तथा उद्यमशीलताको मार्ग हुँदै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै सबैलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।
अध्यक्ष भण्डारीले नाकाबन्दी, कोभिड–१९ तथा भूकम्प जस्ता विपदका बेला पनि व्यापारीहरूले नहारेको हिम्मतको प्रशंसा गर्दै हाल ‘जेन–जी’ आन्दोलनको प्रभावले व्यापार–व्यवसायमा थप चुनौती आइरहेको उल्लेख गर्नुभयो।
वर्तमान आर्थिक अवस्था धरासायी भई निजी क्षेत्र उत्साहित हुन नसकेको भन्दै उहाँले उद्योगमा लगानी गर्ने वातावरण पनि अन्योलपूर्ण बनेको बताउनुभयो। यस्तो अवस्था निरन्तर रहिरहे धेरै उद्योग व्यवसाय बन्द भई व्यापारीहरू विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिनुभयो।
भण्डारीले सबै क्षेत्र गम्भीर भएर नेपाली उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्ने दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो।







प्रतिक्रिया