कपिलवस्तु ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा शर्मा गौतमले कपिलवस्तु जिल्लाको तौलिहवामा औषधि सेवन गर्दै हात्तीपाइले निवारण अभियानअन्तर्गतको आम औषधि सेवन कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको छ। शुभारम्भ कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीलगायत सरोकारवाला समेत सहभागी थिए। सहभागी सबैले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।
कपिलवस्तुको सुदोधन, मायादेवी, यशोधरा, कपिलवस्तु, महाराजगंज र कृष्णनगर गरी छ वटा नगरपालिकामा आइतबारदेखि दुई सातासम्म आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हात्तीपाइले रोग निवारण औषधि सेवन कार्यक्रम यस वर्ष आएर १७औँ चरणमा पुगेको छ। हात्तीपाइले रोग उन्मूलनका लागि समुदायस्तरमै औषधि सेवनलाई प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्य यो अभियानको रहेको छ।







प्रतिक्रिया