१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

वैदेशिक रोजगारमा गएका परिवारलाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श



मायादेवी अनलाइन, बुद्धभूमि।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वैदेशिक रोजगारमा गएका व्यक्तिहरूका परिवारलाई लक्षित गर्दै वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श प्रदान गरिएको छ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका घर–परिवारलाई आर्थिक रूपमा सक्षम बनाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा सुरक्षित वैदेशिक रोजगारका लागि मार्गनिर्देशन गर्न भन्दै तीन वडाका विभिन्न टोलमा गरी ७५ जनालाई परामर्श दिइएको हो।

बुधबार वडा नं. ३ स्थित घनचौरामा २५ जनालाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) ले सिकेका विषयलाई व्यवहारमा उतार्न आग्रह गर्दै यो कार्यक्रमले सुरक्षित वैदेशिक यात्रामा सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका उद्देश्यबारे जानकारी गराउँदै रोजगार संयोजक रबिन चौधरीले परामर्शले वैदेशिक रोजगारीमा गएका परिवारलाई आर्थिक व्यवस्थापन र उद्यमशीलता विकासमा मद्दत पुर्‍याउने बताए। पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रममा ठगीका घटना बढिरहेको, विदेशमा रहेका सदस्यका कारण मानसिक तनाव र पारिवारिक कलह पनि देखिन थालेको उल्लेख गर्दै चौधरीले यस्ता समस्याको समाधानमा कार्यक्रम प्रभावकारी हुने बताए।

२१ हप्तासम्म सञ्चालन हुने यो कार्यक्रम नगरपालिका वडा नं. १, ३ र ९ गरी तीन वडामा सञ्चालन हुँदैछ। मंगलबार वडा नं. ९ मा कार्यक्रम उद्घाटन भइसकेको छ भने अब वडा नं. १ मा पनि सुरु हुने तयारी भइरहेको संयोजक चौधरीले जानकारी दिए।

वैदेशिक रोजगारमा गएकाहरूका परिवार सहभागी भएको कार्यक्रममा मनोविमर्शकर्ता सङ्गीता अर्याल र गुलाविया अर्यालले परामर्श प्रदान गरेका थिए।

प्रकाशित मिति : १० मंसिर २०८२ बुधबार ००:००  ९ : २३ बजे