२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

यूएमएनको सामाजिक परीक्षण सम्पन्न, कार्यक्रम प्रभावकारी भन्दै कार्यक्षेत्र विस्तारको सुझाव



मायादेवी अनलाइन, तौलिहवा ।
यूनाईटेड मिसन टु नेपाल (यूएमएन) को आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ। देशभर ११ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको यूएमएनले कपिलवस्तु जिल्लाका मायादेवी र यशोधरा गाउँपालिकामा विभिन्न ५ वटा परियोजना सञ्चालन गरिरहेको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले यूएमएनले शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका तथा अपांगता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। विद्यालय जाने विद्यार्थीको संख्या बढे पनि शिक्षा गुणस्तरमा अपेक्षित सुधार नआएको उल्लेख गर्दै उहाँले सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।
आचार्यले अनुगमनका क्रममा यूएमएनका कार्यक्रमबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएको देखिएकाले यसको कार्यक्षेत्र विस्तार गर्न सुझाव दिनुभयो। साथै उद्यमशीलता विकासमा जोड दिनुपर्ने र जिल्लामा विभिन्न स्थानमा राखिएका ‘डिप बोरिङ’ सञ्चालनमा नआएकाले यसतर्फ पनि पहल गर्न आग्रह गर्नुभयो।

यसैक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले राज्यले गर्नुपर्ने काममा यूएमएनले सहयोग पुर्‍याइरहेको उल्लेख गर्दै, आगामी दिनमा अझ ‘ग्रासरुट’ स्तरका कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिनुभयो। पाँच वटा परियोजना प्रभावकारी रूपमा चलेको बताउँदै विपद् व्यवस्थापन परियोजनासँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले जिल्लामा शिक्षा–स्वास्थ्यलगायतका क्षेत्रमा धेरै संस्थाले काम गरे पनि समन्वयको अभावमा कार्यक्रम दोहोरो हुने, प्रभावकारिता घट्ने तथा अरुको कामको श्रेय अर्को संस्थाले लिने समस्या दोहोरिएको बताउनुभयो। यस्ता समस्या रोक्न सबै निकायले सहकार्य गर्ने वातावरण बनाउनुपर्ने उहाँको सुझाव थियो। मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेकोमा यूएमएनलाई प्रशंसा गर्दै उहाँले सामाजिक सद्भाव र शान्ति कायम गर्दै कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीयले आफूहरूले यूएमएनका परियोजनाबाट प्रत्यक्ष लाभ पाएको भन्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। परियोजनाबाट आत्मविश्वास, उद्यम गर्ने सोच, सीप तथा व्यवहारगत सुधार आएको बताएका सहभागीहरूले कार्यक्रम कार्यक्षेत्र विस्तार गर्न पनि सुझाव दिए।

यूएमएनले हाल कपिलवस्तुको मायादेवी र यशोधराका सबै वडामा पाँचवटा परियोजनामार्फत काम गर्दै आएको छ—परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय परियोजना, अपांगता पुनर्स्थापना परियोजना, शान्तिका लागि स्थानीय क्षमता विकास, जीविकोपार्जन तथा वातावरण, समुदाय उत्थानशीलता र मानसिक स्वास्थ्य परियोजना संचालन गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तथा यूएमएन लुम्बिनी प्रदेश टिम लिडर शब्बु तामाङले बालशैक्षिक सुधार, उद्यमशीलता एवं मानसिक स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा काम भइरहेको बताउनुभयो। प्राप्त सुझावलाई समेटेर आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उहाँले बताउनुभयो। कार्यक्षेत्र विस्तारका लागि धेरै माग आएको उल्लेख गर्दै सन् २०३० पछि यसबारे छलफल गरेर अघि बढ्ने जानकारी दिनुभयो।

यूएमएन कपिलवस्तुले दलित सामाजिक विकास केन्द्रको साझेदारीमा विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, अपांगता, लैङ्गिकता, विपद् जोखिम व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले काम गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा यूएमएनको परियोजनागत खर्च रु. ४ करोड ८३ लाख ३२ हजार ५ सय ५६ रहेको छ। यसमध्ये ४३.६१% परिवर्तनका लागि बालबालिका–युवा–समुदाय परियोजना, ४०.७४% जीवन सुधार, १३.८१% मानसिक स्वास्थ्य, र १.८४% अपांगता पुनर्स्थापनामा बजेट खर्च भएको छ।

कार्यक्रम धनि रावतको स्वागत मन्तव्य तथा सहजकर्ता संजय पासीको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, जनप्रतिनिधि, कार्यालय प्रमुख, गैसस महासंघका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता थियो।

प्रकाशित मिति : २५ मंसिर २०८२ बिहिबार ००:००  १ : १९ बजे