मायादेवी अनलाइन, चन्द्रौटा ।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले वर्ग विभाजनका आधारमा मात्र निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने बताउनुभएको छ।
आइतबार शिवराज नगरपालिका–१, शिवपुरमा आयोजित ‘गुणस्तरीय शिक्षाका लागि स्थानीय तह तथा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै केसीले समाजमा रहेका सबै वर्गलाई एउटै मापदण्डमा राखेर निःशुल्क शिक्षा लागू गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “समाजमा धनी, मध्यम र विपन्न वर्ग छन्। सबैलाई एउटै दाजोमा राखेर निःशुल्क शिक्षा दिनु उपयुक्त हुँदैन। वर्ग विभाजन गरी विपन्न वर्गका नागरिकका लागि शिक्षा र स्वास्थ्यमा विशेष व्यवस्था गर्नुपर्छ।”
बालबालिकाको उमेर समूहअनुसार व्यवहारिक शिक्षामा जोड दिन सके सकारात्मक प्रतिफल आउने उहाँको भनाइ छ। पछिल्लो समय लागुऔषध दुर्व्यसनीको समस्या बढ्दै गएको उल्लेख गर्दै उहाँले यस विषयलाई पाठ्यक्रममै समेट्न सुझाव दिनुभयो।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिका कारण विभिन्न आन्दोलनहरू भइरहेको चर्चा गर्दै पूर्वमन्त्री केसीले समयमै आत्मसमीक्षा र सुधार नगरे अवस्था भयावह बन्ने चेतावनी दिनुभयो। सस्तो लोकप्रियताको पछि लाग्दा देश असफल हुने भन्दै दीर्घकालीन रूपमा देश र समाजलाई फाइदा हुने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष शिक्षामा ठूलो लगानी गरे पनि लगानीअनुसारको प्रतिफल आउन नसकेको केसीको भनाइ छ। भ्रष्टाचारकै कारण राजस्व संकलन कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले विकसित देशहरूमा शिक्षण पेशा सबैभन्दा सम्मानित रहेकाले नेपालमा पनि यस पेशालाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति बाबुराम आचार्यले निःशुल्क शिक्षा कार्यान्वयन गरेकोमा शिवराज नगरपालिकालाई धन्यवाद दिँदै अन्य स्थानीय तहले पनि यसको अनुसरण गर्नुपर्ने बताउनुभयो।
राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै उहाँले संघ, प्रदेश र स्थानीय—तीनै तहका सरकारले भौतिक पूर्वाधारभन्दा सामाजिक विकासमा बढी लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका सल्लाहकार पोमनारायण पौडेलले शिक्षामा चार महत्वपूर्ण पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षाले मानिसलाई जन्मदेखि मृत्युसम्म सहज बनाउने, पूर्ण आयु दिन सहयोग गर्ने, व्यक्ति तथा समाजमा सकारात्मक संस्कार विकास गर्ने र प्राकृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने खालको हुनुपर्ने उहाँको भनाइ छ।
मदरसा शिक्षा तथा कपिलवस्तुमा रहेका सिमान्तकृत समुदायलाई समेत समेटेर निःशुल्क शिक्षा कार्यान्वयन गर्न उहाँले सुझाव दिनुभयो। साथै, बजेटको २० देखि २५ प्रतिशत हिस्सा शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्मा, बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराई, महाराजगञ्ज नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत गाहा र विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले आ–आफ्ना पालिकामा शिक्षाको अवस्था, असल अभ्यास, सम्भावना र चुनौतीबारे जानकारी गराउनुभएको थियो।
यसैगरी एक्सन एड नेपालका प्रतिनिधि चोपलाल बेल्वासेले शिक्षालाई उत्कृष्ट बनाउने उपायबारे तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक हरि अधिकारीले स्थानीय तहको शिक्षा अवस्था, अपेक्षा र भूमिकाबारे प्रस्तुतीकरण दिनुभएको थियो।
वडा नम्बर १० की वडा अध्यक्ष मञ्जु मिश्राले शिक्षा सँगसँगै नैतिक संस्कारमा ध्यान दिनुपर्ने बताउनुभयो। विद्यालयको नियमित अनुगमनले शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने उहाँको भनाइ छ।
महिला नेतृ मिना परियारले अपाङ्गता भएका, महिला तथा विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क शिक्षामा जोड दिँदै किशोरीको सुरक्षामा विशेष ध्यान दिन सुझाव दिनुभयो।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, महाराजगञ्जकी उपमेयर रिता कुमारी चौधरी, विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, विभिन्न शाखाका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनमा सबै पालिकाले जोड दिनुपर्ने भन्दै शिक्षासंगै असल चरित्र निर्माणको लागि संस्कारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
एनसिइका बाबुराम रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्थानीय अधिकार कार्यक्रमका अजय चौधरीले गर्नुभएको थियो। एक्सन एड नेपालको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहकार्यमा आयोजना गरिएको हो।








प्रतिक्रिया