दिपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नगरसभाको १८औँ अधिवेशनबाट दुई वटा महत्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् । बुधबार नगरपालिकाको बहुउद्देश्यीय सभाहल बुड्ढीमा सम्पन्न अधिवेशनले खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ पारित गरेको हो ।
नगरसभामा नगरपालिकाका मेयर तथा नगरसभा अध्यक्ष केशवकुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले भदौ २३ – २४ को जेन्जी आन्दोलनको प्रभावका कारण समयमै आयोजना तथा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउँदै उहाँले चालु तर्फ २२.४१ प्रतिशत र पूँजीगत तर्फ १.०८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
पूर्वाधार विकासतर्फ ५४ वटा योजनाको सम्झौता भइसकेको जनाउँदै नगरको गौरवको आयोजनाका रूपमा रहेको टिक्कर–बुड्ढी–बिजगौरी सडक अन्तर्गत वडा नम्बर ५ र १० मा ७ करोड ८० लाख रुपैयाँको बजेटमा काम सञ्चालनमा रहेको बताउनुभयो ।
मेयर श्रेष्ठका अनुसार नगरपालिकाले आन्तरिक आयतर्फ १ करोड ४७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरले ५० प्रतिशत अनुदानमा ३९ टन गहुँको बीउ खरिद गरी वितरण गरेको छ भने पशुसेवा शाखामार्फत १२ हजार २ सय ४१ पशुको उपचार गरिएको छ ।
यसैगरी, नगरपालिकाले ११ हजार ५ सय १० जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीका लागि १४ लाख ३० हजार रुपैयाँ निकासा गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले वडा नम्बर ५ मा निःशुल्क आँखा शिविर सञ्चालन गरी १ सय ५ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरेको छ भने वडा नम्बर ८ लाई पूर्ण संस्थागत वडा घोषणा गरिएको छ ।
जनप्रतिनिधि भएपछि विभिन्न आरोप–प्रत्यारोप आउनु स्वाभाविक भएको उल्लेख गर्दै मेयर श्रेष्ठले पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले कानुनको दायराभित्र रहेर काम गरिरहेको र त्यसको पुष्टि नगरको प्रतिवेदनले गर्ने उहाँको भनाइ थियो ।
अधिवेशनमा उपप्रमुख मिरा चौधरीले न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा नगरपालिकामा दर्ता भएका ९ वटा उजुरी फछ्र्योट गरिएको जानकारी दिनुभयो ।
नगरसभामा विधेयक समिति संयोजक सन्दीपकुमार पाण्डेयले दुई वटा विधेयक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया