९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

विद्यार्थी र अभिभावकद्वारा शिक्षकलाई बाजागाजा सहित बिदाइ



बाबुराम रायमाझी, भलवाड ।

“लगनशील विद्यार्थी, समर्पित शिक्षक—गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित श्रीराम आधारभूत विद्यालय, पडरिया ले आफ्ना संस्थापक प्रधानाध्यापक ओमलाल गिरीलाई भव्य रूपमा बिदाइ गरेको छन ।

विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको सहभागितामा नौमती बाजागाजासहित वाणगंगा–९ को वडा परिक्रमा गर्दै प्रधानाध्यापक गिरीलाई उहाँको निवास वडा नं. ४, जितपुरसम्म पुर्‍याइएको थियो। जिल्लामै पहिलोपटक यस प्रकारको सम्मानसहितको बिदाइ कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले प्रधानाध्यापक गिरीले सरेपानी सामुदायिक वनको सहयोगमा विद्यालयलाई नमुना विद्यालयको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले गिरीले तीन पुस्तासम्मका विद्यार्थीलाई अध्यापन गराई अभिभावकहरूको मन जित्न सफल भएको बताउनु भएको थियो । साथै चालु आर्थिक वर्षभित्र विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुने जानकारी पनि दिनुभएको थियो ।

श्रीराम आधारभूत विद्यालय यसअघि नै नगरपालिकाबाट नमुना विद्यालयको रूपमा पुरस्कृत भइसकेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी पूर्व कृषि तथा सहकारी मन्त्री आरती पौडेल, नगर शिक्षा शाखा प्रमुख रोशन घिमिरे, निवर्तमान शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी, वडा अध्यक्ष कमल पौडेल, सरेपानी सामुदायिक वनका अध्यक्ष विन्द्रबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर खड्का लगायतले प्रधानाध्यापक गिरीको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँको नाम विद्यालयको स्वर्णिम इतिहासमा लेखिने बताएका थिए ।

प्रधानाध्यापक ओमलाल गिरीले वि.सं. २०४१ साल मंसिर १ गते शिक्षाक्षेत्रमा प्रवेश गरी २०८२ साल पौष ९ गते सम्म ४१ वर्ष १ महिना शिक्षासेवा गरी अनिवार्य अवकाश भएको बिधालयले जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८२ बुधबार ००:००  ७ : ३५ बजे