बाबुराम रायमाझी,भलवाड ।
“शुद्ध खानेपानी, स्वस्थ जिन्दगानी” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ को चौबाह टोलमा अवस्थित कपिल आरोग्य मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ।
साधारणसभामा समितिका सचिव दुर्गा पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ७ लाख ३१ हजार ५ सय ६० रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेका थिए । प्रतिवेदनमार्फत समितिले समयमै योजना सम्पन्न गरी उपभोक्तालाई नियमित रूपमा खानेपानी आपूर्ति गर्न सफल भएको जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सन् २०३० सम्म मुलुकलाई पूर्ण स्वच्छ सरसफाइयुक्त राष्ट्र घोषणा गर्ने राज्यको लक्ष्यलाई सफल बनाउन “एक घर–एक धारा” नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । नगरमा हाल करिब ६० प्रतिशत घरधुरीमा मात्र धारा जडान भएको उल्लेख गर्दै यसलाई ८० प्रतिशतसम्म पुर्याउन नगरपालिकाले पहल गरिरहेको बताएका थिए ।उनले पहिले वडा तहमा सरसफाइ मुक्त वडा घोषणा गरी त्यसलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिँदै ७० प्रतिशतभन्दा बढी रोग दूषित पानीकै कारण लाग्ने भएकाले शुद्ध तथा स्वच्छ पानीको प्रयोग अनिवार्य रहेको बताएका थिए, साथै खानेपानीका धारा संख्या विस्तार गर्नुपर्ने भन्दै यसको संरक्षण र संवर्द्धनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि आवेग हुसेन मियाले समितिका लागि थप कार्यान्वयनका उद्देश्यले बजेट विनियोजन भइसकेको जानकारी गराउँदै सार्वजनिक मठ–मन्दिर तथा धार्मिक स्थललाई प्राथमिकतामा राखी योजना अगाडि बढाउन सुझाव दिएका थिए । उनले आफ्नो कार्यालयबाट आवश्यक प्राविधिक तथा संस्थागत सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं। ९ का वडा अध्यक्ष कमल पौडेलले कपिल आरोग्य मन्दिर खानेपानी समितिले छोटो समयमै योजनाको काम सम्पन्न गरी तीव्र गतिमा खानेपानी सञ्चालन गरेकोमा समितिप्रति धन्यवाद व्यक्त गरेका थिए ।
त्यसैगरी भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी र कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले पनि आ–आफ्नो धारणा राख्दै समितिको कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको कामना गरेका थिए ।
साधारणसभा कपिल आरोग्य मन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिलिप बहादुर बस्नेतको अध्यक्षता तथा नगर प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता रहेकोे कार्यक्रममा खेलराज पौडेलको स्वागत मन्तव्य तथा सचिव दुर्गा प्रसाद पौडेलको सहजीकरणमा भएको थियो।
२०७८ सालमा स्थापना भएको यस खानेपानी संस्थामा हाल ४ सय ७४ जना उपभोक्ता आवद्ध रहेका छन्। समितिले समुदायस्तरमा शुद्ध खानेपानी र सरसफाइ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।







प्रतिक्रिया