१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कपिलवस्तु कारागारबाट भागेका १२१ कैदीबन्दी अझै फरार



कपिलवस्तु । जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागार कार्यालयबाट भागेका १२१ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार कार्यालय कपिलवस्तुका प्रमुख दलबहादुर बस्नेतका अनुसार आन्दोलनका क्रममा फरार ४३० कैदीबन्दीमध्ये ३०९ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा रहेका ४५९ कैदीबन्दीमध्ये २९ जना नभागी कारागारमै बसेको उहाँको भनाइ छ ।

भदौ २५ देखि पुस १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट ११५ जना पक्राउ परेका छन् । रुपन्देहीबाट चार, रुकुमपश्चिमबाट एक जना पक्राउ गरी बुझाइएको छ भने दाङबाट पक्राउ परेका एक जना हाल कारागार कार्यालय दाङमा छन् । केन्द्रीय कारागार काठमाडौँमा एक जना नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा १८७ जना कैदीबन्दी स्वयम् उपस्थित भएका छन् । त्यसमध्ये कारागार कार्यालय कपिलवस्तुले प्रकाशित गरेको सूचना बमोजिम असोज १२ देखि २० गतेभित्र २५ जना स्वयं उपस्थित भएका हुन् । भदौ २५ देखि पुस १५ गतेसम्म कुल ३०९ जना पक्राउ तथा स्वयं उपस्थित भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार कारागार व्यवस्थापनका क्रममा हालसम्म २० जना कैदीबन्दीलाई अन्य कारागार पठाइएको छ । तीमध्ये १९ जना केन्द्रीय कारागार काठमाडौँ र एक जना ९महिला० कारागार कार्यालय पश्चिम नवलपरासी पठाइएको छ । थप १३ जनालाई अन्य कारागार पठाउन बाँकी रहेको प्रहरीले उहाँको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक सिंहले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा निकायबिच समन्वय गरी फरार कैदीबन्दीको खोजी तथा पक्राउ कार्य निरन्तर जारी छ । कानुनको दायरामा ल्याउन बाँकी सबैलाई छिट्टै नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।” हाल कपिलवस्तु कारागारमा ३७४ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । –गोरखापत्रबाट

प्रकाशित मिति : १६ पुस २०८२ बुधबार ००:००  ५ : ५७ बजे