१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बनगाइ–डोहाटे जोड्ने सडक निर्माण तीव्र, वर्षौदेखिको माग पूरा हुने आशा



बाबुराम रायमाझी ,भलवाड ।

पुर्ब–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत बाणगंगा नगरपालिका–७ देखि बनगाइ–डोहाटे जोड्ने अत्यन्त पुरानो तथा व्यस्त बनगाइ–डोहाटे सडकको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। वाणगंगा नगरपालिका–९ स्थित पडरियादेखि सुरु भएको सडक निर्माणले स्थानीयवासीमा उत्साह थपेको छ।

स्थानीयस्तरमा धेरै वर्षदेखि माग हुँदै आएको उक्त सडक निर्माणको जिम्मा N.B. Indreni J.V., बुटवलले पाएको छ। ठेक्का प्राप्त कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार सडक निर्माण कार्य पडरियाको सिमानादेखि सुरु गरिएको हो र निर्धारित मापदण्डअनुसार काम अघि बढिरहेको छ।

शिवपुर सडक डिभिजन कार्यालय अन्तर्गत संघिय सरकारको ३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त सडक १७ सय मिटर लम्बाइ र ८ मिटर चौडाइको रहनेछ। सडक कालोपत्रेको आबस्यक ठाउँमा नाली निर्माण तथा आवश्यक संरचनासहित निर्माण गरिने जनाइएको छ।

बनगाइ–डोहाटे सडक क्षेत्रका लागि मुख्य आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ। यस सडकको दयनीय अवस्थाका कारण वर्षायाममा हिलो र हिउँदमा धुलोले सर्वसाधारण, विद्यार्थी, व्यापारी तथा सवारी चालकहरू सधैं समस्यामा पर्ने गरेका थिए। सडक निर्माणपछि यातायात सहज भई दुर्घटनाको जोखिम कम हुनुका साथै स्थानीय आर्थिक गतिविधि समेत बढ्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले लामो समयपछि सडक निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, निर्माण कार्य सम्पन्न भएपछि बाणगंगा–७ र ९ का साथै अर्घाखाँची जिल्लाका आसपासका वडाहरूका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।

सडक निर्माणले महेन्द्रराजमार्गसँगको आन्तरिक पहुँच सुदृढ भई व्यापार, शिक्षा, स्वास्थ्य र आपतकालीन सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ पुस २०८२ बिहिबार ००:००  ९ : १९ बजे