३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कृष्णनगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न



मायादेवी अनलाइन, कृष्णनगर ।
कृष्णनगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार वडा नम्बर ७ अजिगरामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा नगरपालिकाले गरेका कार्यक्रम तथा योजनाको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा सहभागी नागरिकका गुनासो, सुझाव तथा जिज्ञासाको जवाफ दिँदै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले जनताका समस्या र सुझावलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको सीमितताका कारण सबै क्षेत्रका समस्या एकैपटक समाधान गर्न नसकिने स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर काम गरिने बताउनुभयो ।
मेयर शाहले शिक्षा र स्वास्थ्य जनताका आधारभूत आवश्यकता मात्र नभई अधिकारसमेत भएकाले नगरपालिकाले यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । विगतको तुलनामा नगरपालिकामा उल्लेखनीय प्रगति भएको दाबी गर्दै अब शिक्षा र स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी काम गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले नगरपालिकाले जनआवश्यकतालाई मध्यनजर गर्दै काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रममार्फत उठेका समस्या समाधान गर्दै नगरपालिका अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा गरेका विभिन्न गतिविधि तथा प्रगतिबारे जानकारी गराउनुभयो । जेन्जी आन्दोलन लगायतका कारण अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै अब विकास निर्माणका काम तीव्र रूपमा अगाडि बढाइने बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा पशु शाखा प्रमुखले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईंको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दीपा महतले नागरिक तथा बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सनीउल्ला धोबीले गर्नुभएको हो ।
कार्यक्रममा नगर उपप्रमुख, विभिन्न विषयगत शाखा प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिक गरी करिब २ सय जनाको सहभागिता रहेको थियो

प्रकाशित मिति : २४ पुस २०८२ बिहिबार ००:००  ६ : ३० बजे