बाणगंगा। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति कपिलवस्तुको दोस्रो जिल्ला परिषद् मायादेवी रिसोर्ट बैरियामा शनिबार सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालय शिक्षा क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यालय कुनै पनि राजनीतिक दलको अंग हुन नहुने स्पष्ट पारे । लुम्बिनी यात्राबाट आफूले धेरै कुरा सिकेको बताउँदै अध्यक्ष अधिकारीले राजनीतिक दलभन्दा माथि उठेर अभिभावकको शिक्षा प्रतिको चाहना र विश्वास जित्ने कार्यमा निजी क्षेत्र लाग्नुपर्नेमा जोड दिए । विद्यालय कांग्रेस, कम्युनिष्ट वा कुनै राजनीतिक दलको प्रभावमा नभई शुद्ध शैक्षिक संस्थाका रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राखी गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले शिक्षकहरूको क्षमता विकास, तालिम तथा संस्कारयुक्त, प्रविधिमैत्री र व्यवहारिक गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार सुमन गोपाल अाचार्यले निजी विद्यालयले राज्यले पूरा गर्न नसकेको शैक्षिक दायित्व पूरा गरिरहेको बताए । उनले निजी विद्यालयप्रति रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका नीतिगत कमजोरी सुधार गर्न प्याब्सनले सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरी प्याब्सन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले कपिलवस्तुबाट बुटवल विद्यार्थी बोकेर जाने बसहरू नियन्त्रण हुन नसक्नु जिल्लाका लागि दुर्भाग्यपूर्ण विषय भएको बताए । यसले जिल्लाभित्रका विद्यालय कमजोर बनाउने र स्थानीय शैक्षिक विकासमा नकारात्मक असर पार्ने भन्दै उनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए । शिक्षामा लगानी बढाएर गुणस्तर सुधार गर्ने क्षमता निजी क्षेत्रसँग मात्र रहेको भन्दै यसको अगुवाइ विद्यालय सञ्चालकहरूले गर्नुपर्नेमा उनले जोड दिए ।
प्याब्सन कपिलवस्तुका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य सुन्दर पाण्डेले निजी विद्यालयले गुणस्तर, अनुशासन र विश्वासलाई मुख्य आधार बनाएर अघि बढ्नुपर्ने बताए । संगठनभित्र एकता र सहकार्य मजबुत बनाए मात्र निजी विद्यालयका साझा समस्या समाधान सम्भव हुने उनको भनाइ थियो ।
जिल्ला भेलामा संगठन सुदृढीकरण, निजी विद्यालयले भोगिरहेका समसामयिक समस्या, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–कर्मचारीको क्षमता विकास तथा अभिभावकसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । साथै जिल्लामा निजी विद्यालयहरूको भूमिका, चुनौती र आगामी कार्ययोजनाका विषयमा गहन बहस गरिएको प्याब्सनले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । निजी विद्यालयलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
परिषद् भेलामा आगामी दिनमा जिल्लाभित्रका निजी तथा आवासीय विद्यालयबीच आपसी सहकार्य बढाउने, संगठनलाई थप सशक्त बनाउने तथा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
भेला प्याब्सन जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष तोयनाथ गैरेको स्वागत मन्तव्य तथा सचिव राजु अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो । परिषद् भेलामा जिल्लाभरका निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।







प्रतिक्रिया