१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

आठौँ बुद्धभूमि माघी महोत्सव पौष २९ देखि बुड्ढी तालमा हुने



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समितिको सहआयोजनामा महोत्सव हुन लागेको हो।

पौष २९ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने कार्यक्रम रहेको थाकसका जिल्ला सभापति पवनकुमार थारुले जानकारी दिनुभयो।

माघी महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिका अध्यक्ष थारुले थारु संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी बुद्धभूमि नगरपालिका–४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले माघी महोत्सवले बुड्ढी तालको प्रचार–प्रसारमा टेवा पुग्नुका साथै स्थानीय व्यापारीको आर्थिक वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर थौधरीले माघीसँगै थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुने उल्लेख गर्दै यस वर्ष जिल्लाका तीन स्थानमा माघी मेला आयोजना गरिएको जानकारी दिनुभयो। महोत्सवमा थारु खानाका परिकार, झुमरा नृत्य, झर्रा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने उहाँले बताउनुभयो।

पछिल्ला वर्षहरूमा माघी पर्वमा विभिन्न विकृतिहरू भित्रिएको भन्दै त्यसलाई नियन्त्रण गर्दै यस वर्ष मौलिक थारु संस्कृति झल्किने कार्यक्रमहरूलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ। ‘पहिले विभिन्न भोजपुरी गीतहरू बज्ने गर्थे, अब यस वर्ष त्यसलाई न्यूनिकरण गर्दै थारु गीत–संगीतलाई प्राथमिकता दिनेछौँ,’ थारुले भन्नुभयो।

माघी महोत्सवको संरक्षक बुद्धभूमि नगरपालिका रहेको छ। कार्यक्रमको सञ्चालन थाकसका जिल्ला सचिव जगदीश प्रसाद चौधरीले गर्नुभएको थियो।

प्रकाशित मिति : २८ पुस २०८२ सोमबार ००:००  १ : ११ बजे