बाबुराम रायमाझी,भलवाड ।
“रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९, भलवाडमा अवस्थित साहारा सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न गरेको छ।
साधारणसभामा समूहकी सचिव कमला अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ८७ लाख ६६ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्। प्रतिवेदनमा वन संरक्षण, व्यवस्थापन, सामुदायिक विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू उल्लेख गरिएको थियो।
कार्यक्रममा समूहका अध्यक्ष ठाकुर प्रसाद खनालले साहारा सामुदायिक वनको भावी योजना तथा रणनीतिबारे प्रकाश पार्दै वनको दिगो व्यवस्थापन, संरक्षण र उत्पादनलाई सँगसँगै अघि बढाइने बताएका थिए । यस्तै, लेखा समितिको प्रतिवेदन लेखा संयोजक दुर्गा प्रसाद पौडेलले सुझावसहित प्रस्तुत गरेका थिए।
सामाजिक उत्तरदायित्वअन्तर्गत साधारणसभामा सामुदायिक वन उपभोक्तामध्ये ७० वर्ष उमेर पूरा गरेका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, सामुदायिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई पाठ्य सामग्री तथा झोला वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय गोरुसिङ्गेका सहायक वन अधिकृत अमित पाण्डेले सामुदायिक वनले नीति, नियम र स्वीकृत योजनाअनुसार पारदर्शी रूपमा काम गर्नुपर्नेमा जोड दिदै उनले वनको सही सदुपयोग गर्दै संरक्षण र संवर्द्धनसँगै वनजन्य उत्पादन बढाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।
साधारणसभामा कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, पत्रकार बाबुराम रायमाझी लगायत वक्ताहरूले शुभकामना मन्तव्य दिँदै साहारा सामुदायिक वनले समुदायमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रमका अध्यक्ष ठाकुर प्रसाद खनालले सहभागी सबै मा धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रम समूहकी सचिव कमला अधिकारीको सहजीकरणमा भएको थियो ।
२०९।६८ हेक्टर क्षेत्रफलमा फैलिएको साहारा सामुदायिक वनबाट १९० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित रहेका छन्। वनले विगतदेखि नै समुदायमा रचनात्मक तथा सिर्जनात्मक सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
२४औँ साधारणसभामा छिमेकी सामुदायिक वनका अध्यक्षहरू, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।







प्रतिक्रिया