१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बाणगंगामा घरबारविहीन र सडकमानवका लागि दैनिक निःशुल्क खाना सेवा सुरु



जितपुर ।

“भोकको विरुद्ध मानवताको अभियान” भन्ने मूल नारासहित कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा घरबारविहीन, असहाय, अशक्त तथा सडकमानवहरूका लागि दैनिक निःशुल्क खाना सेवा सञ्चालनमा ल्याइएको छ।

बाणगंगा नगरपालिका वडा नं.४ अन्तर्गत न।चोकमा बिहान १० बजेदेखि नियमित रूपमा निःशुल्क खाना वितरण गरिँदै आएको आयोजकले जनाएको छ। विशेष गरी सडकमा जीवन बिताउन बाध्य आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गरी यो मानवीय सेवा सुरु गरिएको होटल तथा पर्यटन व्यवसायी संघ, कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिनुभयो।

कार्यक्रमको उद्देश्य भोक, अभाव र उपेक्षामा रहेका नागरिकलाई कम्तीमा एक छाक न्यानो खाना उपलब्ध गराउनुका साथै मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्नु रहेको अध्यक्ष पौडेलले बताउनुभयो। “सेवामै धर्म, करुणामै शक्ति र मानवतामै समाज” भन्ने सन्देशसहित अभियानलाई निरन्तरता दिइने उहाँको भनाइ छ।

आयोजक संस्था होटल तथा पर्यटन व्यवसायी संघ, कपिलवस्तुले नगरवासी, सामाजिक संघ–संस्था तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। आफ्नो गाउँ–टोल, छरछिमेक, सडक वा प्रतीक्षालयमा घरबारविहीन, असहाय वा अशक्त व्यक्तिहरू देखेमा उनीहरूलाई यस सेवा अभियानमा जोड्न आवश्यक समन्वय र जानकारी उपलब्ध गराइ सहयोग गर्न आयोजकले हार्दिक अनुरोध गरेको छ।

संस्थाका अनुसार, “आउनुहोस्, मान्छे भएर मान्छेको लागि गरौँ” भन्ने भावनाका साथ सुरु गरिएको यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। तपाईंको सानो पहल कसैको ठूलो जीवन बन्न सक्ने भन्दै आयोजकले सबैको साथ र सहयोगको अपेक्षा गरेको छ। अभियानसम्बन्धी थप जानकारी वा समन्वयका लागि
९८५७०५१७५०, ९८४७१४५८५३, ९८५७०३५०५०, ९८५७०५२१४४, ९८६४२८४८३१, ९८४३८५९८१६
मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : ३० पुस २०८२ बुधबार ००:००  ८ : २४ बजे