१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

सिद्धार्थ सामाजिक विकास केन्द्रको ३०औँ वार्षिक उत्सव सम्पन्न



बाबुराम रायमाझी,जितपुर ।

कपिलवस्तुकाे वाणगंगा नगरपालिका ४ मा अवस्थित सिद्धार्थ सामाजिक विकास केन्द्रले आफ्नो स्थापना दिवसको अवसरमा ३०औँ वार्षिक उत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न गरेको छ। २०५२ सालमा स्थापना भएको संस्थाले समुदायकाे विकास, सामाजिक न्याय, महिला तथा बालबालिका सशक्तीकरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित उत्सव आयोजना गरिएको थियो ।
वार्षिक उत्सवको अवसरमा संस्थाले उल्लेखनीय योगदान पुर्‍याएका ९ जनालाई सम्मान गरेको छ। सम्मानित हुनेमा संस्थाका ६ जना कर्मचारी, उच्च शिक्षा (एम फिल) अध्ययन पूरा गरेका २ जना सदस्य तथा वाणगंगा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुसिला पन्थ रहेकी छन्। यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना अपाङ्ग व्यक्तिलाई जनही ५–५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो भने कपिलवस्तु बालगृह, तौलिहवालाई १० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलद्वारा लिखित ‘कपिलवस्तुका सम्पदा’ नामक पुस्तकको विमोचन रहेको थियो। पुस्तकको विमोचन कार्यक्रमका विशिष्ट अतिथि वाणगंगा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुसिला पन्थ र संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठले संयुक्त रूपमा गरेका थिए। पुस्तकले कपिलवस्तु जिल्लाका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई उजागर गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य कृष्ण भुसाल, सदस्य लक्ष्मी भण्डारी, संस्थापक महासचिव टंक प्रसाद आचार्यलगायत वक्ताहरूले संस्थाले विगत तीन दशकदेखि सामाजिक विकासको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै वार्षिक उत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले सिद्धार्थ सामाजिक विकास केन्द्रलाई लुम्बिनी प्रदेशकै नमूना योग्य संस्थाको रूपमा अझ सशक्त बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमका अध्यक्ष तिलोचन घिमिरेले संस्थाको गतिविधिमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी र समावेशी कार्यक्रममार्फत समुदायको जीवनस्तर उकास्न संस्था प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरु टिकाराम पौडेल, गुणनिधि भुसाल, तेज प्रसाद आचार्य, सुर्य कुमारी शाही लगायतको उपस्थिति रहेकोे थियो । कोषाध्यक्ष धुर्व बेल्बासेको स्वागत रहेकोे थियो भने सदस्य रोमकान्त घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए।
२०५२ सालमा स्थापना भएको सिद्धार्थ सामाजिक विकास केन्द्र हाल लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ। संस्थाका कार्यक्रमबाट हालसम्म ९३ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल अधिकार, सामाजिक संरक्षणलगायत क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको यस संस्थाले आगामी दिनमा पनि समुदायमैत्री कार्यक्रमलाई निरन्तरता दिने संस्थाका सचिव दुर्गा अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०८२ आइतबार ००:००  ९ : ११ बजे