१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

म पार्टीको होइन, जनताको हुँ: बृजेशकुमार गुप्ता



कपिलवस्तु ।
पूर्वमन्त्री तथा कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार बृजेशकुमार गुप्ताले सबैको साथ र सहयोग भए आफूले निर्वाचन जित्ने दाबी गर्नुभएको छ।

नेकपा क्षेत्र नम्बर २ कपिलवस्तुको निर्वाचन तयारी अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै गुप्ताले अहिलेको निर्वाचन जित–हारको मात्र विषय नभएको बताउनुभयो। उहाँले आफू चुप लागेर बसेको भए चुनाव जित्न यति धेरै मेहनत गर्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै आफू विवेकशील व्यक्ति भएको बताउनुभयो। विवेक बिना निर्वाचन जितेर मात्र केही नहुने उहाँको भनाइ थियो।

आफूले कुनै पार्टी नछोडेको स्पष्ट पार्दै गुप्ताले आफू कहिल्यै पार्टीको नभई सधैं जनताको भएको दाबी गर्नुभयो। एमालेले टिकट नदिएर आफू भागेको भन्ने आरोपको खण्डन गर्दै उहाँले पार्टीले टिकट दिन चाहँदाचाहँदै पनि केही व्यक्तिका कारण पार्टी छाड्नुपरेको बताउनुभयो। केही व्यक्तिको हठका कारण यसअघि नेकपा पार्टी फुटेको उल्लेख गर्दै पार्टी नफुटेको भए अहिले नेपालकै नम्बर एक पार्टी बन्ने दाबी गर्नुभयो।

कार्यकर्ता कसैको दास नभएको टिप्पणी गर्दै गुप्ताले पार्टीभित्रका गलत काम र विसंगतिका विरुद्ध सधैं आवाज उठाउने बताउनुभयो। राजनीति समाजसेवा भएको उल्लेख गर्दै टिकटकका लागि मात्र क्षेत्र परिवर्तन गर्नु गलत भएको उहाँको भनाइ थियो। नाराले मात्र होइन, कामले जनताको मन जित्न सकिने गुप्ताले बताउनुभयो।

केही पार्टीको सुरुवात नै भ्रष्टाचारबाट भएको आरोप लगाउँदै त्यस्ता पार्टीहरूले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गर्नुभयो। अहिले यस क्षेत्रका जनता अन्य कुनै कुरा नसोची तारा चुनाव चिन्हमा मतदान गर्नेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो।

देशलाई सही नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै गुप्ताले जनताले स्वविवेक प्रयोग गरेर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो। जनताले मतदान गर्ने नेता हरेक कुरामा इमानदार हुनुपर्ने र जनताका हरेक प्रश्नको सामना गर्न सक्ने हुनुपर्ने उहाँको भनाइ थियो।

पुराना पार्टीहरूले पटक–पटक निर्वाचन जिते पनि यस क्षेत्रको विकासका लागि केही गर्न नसकेको आरोप लगाउँदै गुप्ताले आफू सांसद हुँदा बुड्ढी–विजगौरी सडक, हुलाकी राजमार्ग निर्माणलगायतका काम गरेको दाबी गर्नुभयो। कांग्रेस र एमालेले कपिलवस्तुलाई बाइपास गरेको तथा कपिलवस्तुलाई प्रदेश राजधानी बनाउने विषयमा समेत केही गर्न नसकेको उहाँको आरोप थियो।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित गराएमा यस क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै गुप्ताले तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

प्रकाशित मिति : १७ माघ २०८२ शनिबार ००:००  ६ : ०० बजे