कपिलवस्तु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार मोहनलाल आचार्यले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र बनाएका छन्। उनले पार्टीका एजेन्डा र नीतिहरू लिएर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी अभियानलाई सक्रिय बनाएका हुन्।
उम्मेदवार आचार्यले वाणगंगा नगरपालिकाका विभिन्न वडाहरूमा निर्वाचन केन्द्रित वडा सम्पर्क कार्यालय सञ्चालन गरी घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। यसक्रममा उनले उत्तरी क्षेत्रसँगै दक्षिणी क्षेत्रका मतदातासँग पनि भेटघाट गर्दै रास्वपालाई मतदान गरी सक्षम, योग्य र इमानदार उम्मेदवार चयन गर्न आग्रह गरेका छन्।
संविधान तथा कानुनका विषयमा विज्ञ अधिवक्ता समेत रहेका मोहनलाल आचार्य रास्वपाबाट उम्मेदवार बनेर ‘अनुभूति हुने कानुन’ र दिगो विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। उनले राजनीति गफ र भाषणले नभई पसिनाले लेखिनुपर्ने भन्दै अबको बाटो विकास र समृद्धिको बाटो भएको स्पष्ट पारेका छन्।
रास्वपाका नेता तथा कार्यकर्ता घरदैलो अभियानमा सक्रिय रहँदै “राजनीति गफले होइन, पसिनाले लेखिन्छ” भन्ने सन्देश मतदातामाझ पु¥याइरहेका छन्। उम्मेदवार आचार्यले देशमा व्याप्त भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र कानुनी शासनको प्रत्याभूतिका लागि रास्वपालाई बहुमत आवश्यक रहेको बताएका छन्।
उनले दैनिक रूपमा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै कपिलवस्तुको समृद्धि र विकासका लागि आफूले देखेको संकल्प, सम्भावना र योजनाबारे जानकारी गराइरहेका छन्। जनताको मन जितिसकेको दाबी गर्दै उनले आगामी निर्वाचनमा मतको सुखद प्रतीक्षामा रहेको बताए।

कपिलवस्तुमा कृषि, पर्यटन र रोजगारीको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले ती क्षेत्रको विकासमार्फत जिल्लालाई समृद्ध बनाउने आफ्नो स्पष्ट खाका रहेको बताए। “आफ्नो अनुभव र ज्ञानलाई कपिलवस्तुको विकासमा प्रयोग गर्नेछु,” उनले भने, “एकपटक अवसर दिएर सेवा गर्ने मौका प्रदान गर्न मतदातासँग आग्रह गर्दछु।”







प्रतिक्रिया