१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सर्वदलीय बैठकः यी हुन् महत्वपूर्ण निर्णय



मायादेवी अनलाइन, तौलिहवा ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले ११ बुँदे निर्णय गरेको छ। फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल, उम्मेदवार, धार्मिक संघसंस्था तथा सरोकारवालाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने, मौन अवधि (फागुन १८ गते राति १२ बजेदेखि) विशेष सावधानी अपनाउने तथा आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने निर्णय गरेको छ।

निर्वाचन पूर्वावधिमा पर्ने होली पर्वलाई मध्यनजर गर्दै संयमित रूपमा पर्व मनाउने, ठूलो भिडभाड नगर्ने तथा मौन अवधिभर मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। रंग, अबिर वा पानी प्रयोग गर्दा कसैको इच्छा विपरीत जवरजस्ती नगर्ने र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नेमा जोड दिइएको छ।

बैठकमा सहभागी नेताहरूले होलीका समयमा मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध प्रयोगका कारण होहल्ला र अवाञ्छित गतिविधि बढ्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरे। मापसे र लागूऔषध प्रयोगको प्रवृत्ति न्यूनीकरण गर्न कडाइका साथ अनुगमन गर्नुपर्ने बताए। कपिलवस्तु मुस्लिम समुदायको पनि बसोबास रहेको संवेदनशील जिल्ला भएकाले प्रशासनले विशेष ध्यान दिनुपर्ने धारणा राखे।

उनीहरूले मौन अवधिमा मदिराको बिक्री वितरण र ओसारपसारमा पूर्ण निषेध गर्नुपर्नेमा जोड दिँदै, होली पर्व मौन अवधिमै परेकाले केही चुनौती देखिए पनि सबैले घरमै बसेर सभ्य र मर्यादित ढंगले पर्व मनाउन आग्रह गरे।

साथै, सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यममार्फत उत्तेजक, भ्रामक वा शान्ति सुरक्षामा असर पार्ने सामग्री प्रसारण नगर्ने, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिने र निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२ बुधबार ००:००  ६ : ४२ बजे