कपिलवस्तु ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कपिलवस्तुका मधेसी, मुस्लिम, हिंसा पीडित, अल्पसंख्यक महिला तथा युवतीलाई मतदाता शिक्षा प्रदान गरिएको छ । महिला, कानून र विकास मञ्चको सहयोग तथा साथी संस्था कपिलवस्तुको आयोजनामा बिहीबार नेपाल निर्माण व्यवसायी संघको सभाहलमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा करिब ५० भन्दा बढी सहभागीलाई मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण गरिएको थियो । सहभागीलाई मतपत्रसम्बन्धी जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा मतदान गर्न जाँदा अपनाउनुपर्ने सावधानीलगायत विषयमा जानकारी दिइएको थियो ।

साथी संस्था कपिलवस्तुकी प्रमुख बिमला घिमिरेले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मतदान गर्ने तरिका, मतपत्र पट्याउने विधिलगायत विषयमा व्यवहारिक अभ्यास गराइएको बताउनुभयो । सहभागी महिला तथा युवतीलाई नमुना मतदानसमेत गराइएको थियो ।
उहाँका अनुसार सहभागीहरू उम्मेदवार चयन गरी मतदान गर्न तथा मतपेटिकामा मतपत्र राख्न सक्षम भएका छन् । कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडा अध्यक्ष जाहिद खानले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
नमुना मतदानसहित सञ्चालन गरिएको उक्त कार्यक्रमबाट जिल्लामा अझ व्यापक रूपमा मतदाता शिक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ । कार्यक्रमको सहजीकरण बिमला घिमिरे र सुस्मा गुराँगाईले गर्नुभएको थियो ।







प्रतिक्रिया