काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।
कूल १ करोड १० लाखको हाराहरीमा मतदान भएकोमा अहिलेसम्म झण्डै ९५ लाखभन्दा बढी मत गणना भइसकेको छ। अब करिब १५ लाख मत गन्न बाँकी छ। समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा सिट बाँडफाडको चासो पनि उत्तिकै छ।
हाम्रो प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहने प्रावधान छ। जसमध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने १ सय १० जना समानुपातिक तर्फबाट । जसमध्ये प्रत्यक्षतर्फको १ सय ६३ जनाको टुंगो लागिसकेको छ भने यो समाचार तयार पार्दासम्म संखुवासभामा मतगणना अन्तिम चरणमा छ।
धनुषा १ मा मतगणना भइसके पनि उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारले सर्वोच्चमा रिट दायर गरेपछि तत्काल परिणाम आउँदैन। यसमा सर्वोच्चले सोमबार कारण देखाउ आदेश जारी गर्दै शुक्रबार दुबै पक्षलाई छलफलमा बोलाएको छ।
यसरी चयन हुन्छन् समानुपातिक सांसद
समानुपातिकबाट दलहरुले देशभरबाट प्राप्त गरेको मतको आधारमा सांसद चयन हुन्छन्। निर्वाचन आयोगमा मतदान हुनुभन्दा अगाडि नै दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन्।
समानुपातिकको मतगणना सकिएपछि उनीहरुले प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले सिट संख्या टुंगो लगाउँछ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मंगलबारसम्म समानुपातिक तर्फको सबै मतगणना सक्ने तयारी छ।
गणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरुले प्राप्त गरेको सिटका आधारमा आयोगले समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्विचत हुने सांसदको नाम सिफारिस गर्न राजनित दलहरुलाई पत्राचार गर्नेछ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउनेछ ।
सिट बाँडफाँडको प्रक्रिया
राजनीतिक दलसम्बन्धी ऐनअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्नेछ भने कूल सदर मतको ३ प्रतिशतको थ्रेस होल्ड पार गर्नुपर्नेछ।
सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याउने दल यो प्रक्रियामा सहभागी हुन पाउँदैनन्। त्यसो भए उनीहरुले समानुपातिकमा पाएको मत के हुन्छ तरु सिट बाँडफाँडका क्रममा कूल सदर मतबाट थ्रेस होल्ड पार गर्न नसकेका सबै दलको मत घटाइन्छ। अथवा थ्रेस होल्ड पार गरेका दलहरुको मतलाई मात्रै जोडेर समानुपातिकको कूल सिट संख्या १ सय १० ले भाग गरिन्छ।
यसरी आउने भागफल भनेको एक सांसद बराबर आवश्यक मत संख्या हो। त्यसपछि सम्बन्धित दलले प्राप्त गरेको मतलाई एक सांसद बराबर आवश्यक मतले भाग गरिन्छ। त्यही भागफल बराबरको सिट दलहरुले प्राप्त गर्नेछन्।
पहिलो पटकमै हर्कको सशक्त इन्ट्री
तीन महिना अघि मात्र दल खोलेर संसदीय राजनीतिमा होमिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको संसदमा सशक्त प्रवेश हुने भएको छ।
पहिलो प्रयासमै थ्रेस होल्ड पार गर्ने पक्का देखिएका साम्पाङको पार्टीले प्रत्यक्षमा तीन सिट जितेको छ। समानुपातिकमा पनि उनको पार्टीले ४ देखि ५ सिटसम्म पाउन सक्ने देखिएको छ।
यसो हुँदा उनको ७ देखि ८ जनासम्म सांसदको प्रतिनिधित्व प्रतिनिधिसभामा हुनेछ भने दलले पनि राष्ट्रिय मान्यता पाउनेछ।
राष्ट्रिय दल बढीमा ६ वटा
संसदमा राष्ट्रिय मान्यता प्राप्त दलको संख्या बढीमा ६ वटा मात्र हुने भएको छ। प्रत्यक्षमा कम्तीमा एक सिट जित्ने दलको संख्या ६ वटा मात्रै भएका कारण मान्यता प्राप्त दल ६ वटा मात्र हुने भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले मात्रै समानुपातिकको थ्रेस होल्ड कटाउने देखिएको छ।
समानुपातिक तर्फ करिब १ करोड १० लाख मत खसेकोमा यो समाचार तयार पार्दासम्म झण्डै ९५ लाख मत गणना भइसकेको छ।
त्यसमा रास्वपाले ४५ लाख ६४ हजार, कांग्रेसले १५ लाख ३० हजार, एमालेले १२ लाख ७६ हजार, नेकपाले ६ लाख ८७ हजार, श्रम संस्कृतिले ३ लाख २४ हजार र राप्रपाले ३ लाख २ हजार मत ल्याएका छन्।







प्रतिक्रिया