कपिलवस्तु ।
प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तुमा उम्मेदवार बनेका ८९ जनाको धरौटी जफत भएको छ।
कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी कुल ९८ जना उम्मेदवार बनेका थिए। त्यसमध्ये नौ जनाले मात्र धरौटी जोगाएका हुन्। खसेको मतमध्ये सदर मतको दश प्रतिशत भन्दा कम मत पाए उनीहरूले धरौटी जफत हुन्छ।
क्षेत्र नम्बर १ मा ३४ उम्मेदवारमध्ये ३१ जनाको धरौटी जफत भएको छ। यस्तै, क्षेत्र नम्बर २ मा २८ मध्ये २५ र क्षेत्र नम्बर ३ मा ३६ मध्ये ३३ जनाको धरौटी जफत भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिण अनुसार ८९ जनाको धरौटी जफत भएको हो। प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु १० हजार जमानत ९धरौटी० राख्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार निर्वाचनमा खसेको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम मत पाउने उम्मेदवारले दफा २२ बमोजिम १० हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवस्था छ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा भारी मतका विजयी भएका एमाले उम्मेदवार विश्राम प्रसाद थारु र दीर्घ नारायण पाण्डेयले समेत धरौटी जोगाउन सकेनन्। अहिलेको निर्वाचनमा चौधरीले ७ हजार ९८२ मत र पाण्डेयले ७ हजार ३५७ मत पाएका छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार कृष्ण कुवर र क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान खाले समेत धरौटी बचाउन सकेनन्। कुवरले ४ हजार ६१६ मत र खाले ४ हजार २५ मत मात्र पाए।
यस्तै, क्षेत्र नम्बर ३ राष्ट्रिय मुक्त पार्टीका उम्मेदवार तथा पुर्व मन्त्री ईश्वर दयाल मिश्राको समेत धरौटी जफत भएको छ। मिश्राले ५ हजार १७ मत मात्र पाए। क्षेत्र नम्बर १ मा १९ दल र १५ स्वतन्त्र उम्मेदवार मध्ये रास्वपाका मोहन आचार्य निर्वाचित भएका छन्। कांग्रेसका अतहर कमाल मुसलमान र स्वतन्त्र उम्मेदवार आषिश शर्माको धरौटी जोगिएको छ।
यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र उम्मेदवार मध्ये रास्वपाका विक्रम सिंह थापा निर्वाचित भएका छन्। कांग्रेसका सुरेन्द्र आचार्य र नेपाली कम्युनिस्ट पार्टीका वृजेश कुमार गुप्ताको धरौटी बेचेका छ।
यसैगरी क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भए भने रास्वपाका प्रकाश रजौरिया र एमालेका वीरेन्द्र कनौडिायले धरौटी जोगाएका छन्। क्षेत्र नम्बर १ मा ९७ हजार ३९४, क्षेत्र नम्बर २ मा ८० हजार ७५ र क्षेत्र नम्बर ३ मा ६९ हजार १८४ मत सदर भएको थियो।






प्रतिक्रिया