कपिलवस्तु ।
कपिलवस्तुमा अनुशासन विपरीत काम गर्ने १० जना निर्वाचन प्रहरीलाई कारबाही गरिएको छ।
कार्यस्थलमा खटिएको बखत अनुशासनविहीन काम गरेपछि उनीहरू कारबाहीमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई धन्यवाद र बिदाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले ५ जना निर्वाचन प्रहरीको सबै सेवा सुविधा नपाउने गरी कट्टा गरिएको र ५ जनाको आंशिक सेवा सुविधा कटौती गरी कारबाही गरिएको बताए।
यसैबिच कपिलवस्तुमा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई बिदाइ गरी प्रमाण पत्र वितरण गरिएको छ। कपिलवस्तुमा कुल २ हजार ९९३ जना निर्वाचन प्रहरी नियुक्त गरिएको थियो।
नेपाल प्रहरीले २ हजार ६६८ र सशस्त्र प्रहरीले ३ सय ३५ निर्वाचन प्रहरी भर्ना गरेको थियो। नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय, मातहतमा इलाका र वडा कार्यालयमा निर्वाचन प्रहरीको बिदाइ कार्यक्रम गरेको थियो।
सशस्त्र प्रहरीले बर्मेली स्थि गणमा कार्यक्रम राखेर बिदाइ गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन प्रहरीलाई ५ समूह बनाई समूह नेतालाई प्रमाण पत्र वितरण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, शमसेर दलका प्रमुख सेनानी विदुर अधिकारी, प्रहरी उपरीक्षक सन्तोष आचार्य पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल र प्रहरी नायब उपरीक्षक रिपेन्द कुमार सिंहले प्रमाण पत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रजिअ गौतमले शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न गराउन राम्रो काम गरेको भन्दै निर्वाचन प्रहरीको प्रशंसा गरे।
यस्तै प्रहरी उपरीक्षक आचार्य र पत्रकार महासंघका जिल्ला अध्यक्ष भुसालले शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन प्रहरी सहित सबैले सहयोग र साथ दिएको बताए।
कार्यक्रममा निर्वाचन प्रहरी सालोनी पाण्डेयले आफूहरूले तोकिएको काम जिम्मेवारीपुवर्क बहन गरेको बताईन्। उनले आफुहरुको लागि यो नौलो अनुभव रहेको र भविष्यमा यसले मार्ग निर्देशन गर्ने मद्दम मिल्ने बताईन्। ४० दिन काम गरेर उनीहरूको विधिवतरुपमा बिहीबार विदाइ गरिएको हो।







प्रतिक्रिया