२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

आजदेखि ग्यास आधा सिलिन्डर मात्र पाइने



काठमाडौं । 

पश्चिम एसियामा उत्पन्न युद्धले पारेको प्रभावले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। 

डेढ महिनादेखि नै सहज ग्यास नपाएका उपभोक्ताले पछिल्लो उत्पन्न परिस्थितिले अभाव झनै चुलिएको हो। सर्वसाधारण उपभोक्ता अहिले एउटा एलपी ग्यास खरिद गर्नका लागि ग्यास उद्योगमै लाम लाग्न जान थालेका छन्। 

ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेप्दै आएको नेपाल आयाल निगमले ग्यासको तत्कालको अभाव हुन नदिनका लागि आधा सिलिन्डर दिएर केही हदसम्म अभाव कम गर्ने तयारी थालेको जनाएको छ।

भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले शुव्रmबारदेखि नै आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिव्रmी गर्ने जानकारी गराएको हो। 

नेपाल आयल निगमका अनुसार हाल देशभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर छन् । हाल १४.२ केजीको सिलिन्डर बिव्रmी हुँदै आएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा अहिले आपूर्तिमा कुनै समस्या नभए पनि उपभोक्ताले अनावश्यक स्टक गर्दा अभाव देखिएकाले यो पनि नहोस् भनेर आधा सिलिन्डर दिने व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम र अन्य सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालक समितिले यसबारे निर्णय गरेको हो। आधा सिलिन्डर मात्रै भरेर बजारमा पठाउँदा उपभोक्ताले साबिकको मूल्यभन्दा आधा मात्रै भुक्तानी गरे पुग्छ।

यसअघि ग्यास अभावको पछिल्लो परिस्थिति र यसको समाधान गर्न बिहीबार नै सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा नेपाल आयाल निगम र सरोकारवाला निकायबिच भएको छलफलमा आधा सिलिन्डरको व्यवस्थाबारे छलफल गरिएको थियो। 

सामान्य समयकै अनुपातमा ग्यास आयात भइरहेको भए पनि बजारमा अभाव बढ्दै गएको देखिएकाले यो समस्या समाधान गर्न आधा सिलिन्डरको व्यवस्था गर्ने गरी छलफल भएको जनाइएको छ।

बजार अनुगमन गर्ने वाणिज्य विभागले पनि तत्कालको समस्या समाधानका लागि आधा सिलिन्डरकै नीति लिन निगमलाई राय दिएको छ। 

निगमले निर्देशन दिएपछि ग्यास उद्योगले अनिवार्य रूपमा सोहीबमोजिम उत्पादन गर्नुपर्ने छ। यद्यपि आधा सिलिन्डर भर्दा उद्योगको सञ्चालन खर्च (अपरेसन कस्ट) भने दोब्बर हुने दाबी छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिव घिमिरेले बजारमा ग्यास आपूर्तिमा अहिलेसम्म कुनै समस्या नभएको बताए।

उनका अनुसार अहिले बजारमा सामान्य अवस्थामा भन्दा बढी आपूर्ति भएको छ। विगतका वर्षमा यो बेलामा सबैभन्दा कम ग्यास खपत हुने भए पनि यस पटक भने सबैभन्दा बढी खपत भएको देख्दा उनले आश्चर्य प्रकट गरे। उनकाअनुसार नेपालमा
अधिकतम महिनाको ३१–३२ लाख सिलिन्डर माग हो तर अहिले त त्यो बढेको अनुमान हामीले गरेका छौँ। उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसेनाले नेपाल आयाल निगमले आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्दा अहिले बजारमा ग्यासको अभाव चुलिएको बताए। 

निगमको व्यवस्थापनको कमजोरीका कारण अहिले बजारमा ग्यासको अभाव देखिएको र अधिकांश उपभोक्ताले
अनावश्यक ग्यास होल्ड गर्दा अभाव अझै चुलिएको तर्क उनले गरे। बिग्रिएको आपूर्ति व्यवस्था नसुधारी आधा सिलिन्डर ग्यास बाँडेर समस्या समाधान गर्ने भन्ने निगमको निर्णय व्यावहारिक नभएको टिप्पणी तिम्लिसेनाले गरे

प्रकाशित मिति : २९ फाल्गुन २०८२ शुक्रबार ००:००  ७ : ५५ बजे