३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सिकार खेल्न गएका छ जना बेपत्ता



बबई (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका छ जना स्थानीय विगत ११ दिनदेखि बेपत्ता भएका छन् । गत फागुन २३ गते निकुञ्जको घना जङ्गलतर्फ लागेका उनीहरू सोमबारसम्म पनि घर नफर्किएपछि घटना सार्वजनिक भएको हो ।

बेपत्ता हुनेमा सुर्खेतको वराहताल गाउँपालिका–१, ज्यामिरेका २५ वर्षीय रेसम सम्सेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील सम्सेली र टोपबहादुर खत्री रहनुभएको छ । त्यस्तै सुर्खेत लेकबेँसी नगरपालिका–गँगटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिँजाली पनि उहाँहरूसँगै बेपत्ता हुनुभएको छ ।

लामो समयसम्म समूहका कोही पनि सम्पर्कमा नआएपछि टोपबहादुर खत्रीका भिनाजु आसे महतराले सुर्खेत प्रहरीलाई जानकारी गराउनुभएको थियो । सुर्खेत प्रहरीले यसबारे बर्दिया प्रहरीलाई समन्वयका लागि पत्राचार गरेपछि मात्रै घटना बाहिर आएको हो । वराहताल गाउँपालिकाबाट झन्डै १७ किलोमिटरको दुरीमा निकुञ्जको सीमा क्षेत्र पर्छ । 

घटना सार्वजनिक भएलगत्तै निकुञ्ज प्रशासन र सुरक्षा निकायले खोजी कार्यलाई तीव्रता दिएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले रातामाटे भन्ने स्थानबाट उनीहरू निकुञ्ज पसेको अपुष्ट जानकारी आएको र यसबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले सञ्चार माध्यममार्फत घटनाको जानकारी पाएको बताउँदै निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र कर्मचारीको टोलीले खोजी कार्य सुरु गरिसकेको जानकारी दिनुभयो । निकुञ्ज जस्तो संवेदनशील र प्रतिबन्धित क्षेत्रमा अनुमतिबिना प्रवेश गरेका उनीहरू जङ्गली जनावरको आक्रमणमा परेका हुन् वा सुरक्षा घेराबाट बच्न लुकिरहेका हुन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।   

प्रकाशित मिति : ३ चैत्र २०८२ मंगलबार ००:००  ११ : २० बजे